राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशलाई

मंसिर ३ मंगलवार, २०७६
खोटाङ । बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले चुमेको छ । बडिगाड गाउँपालिका–५ ग्वालीचौर खारबजारमा भएको प्रतियोगितामा ७ स्वर्ण, १ रजत र ६ कास्य पदक ल्याएर १ नम्बर प्रदेशले उपाधि चुमेको हो ।

पुरुष एकलकातामा मोतिचन्द्र राई, पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि र मोतिचन्द्र राईले स्वर्ण पदक जितेका हुन् । महिला समुहकातामा सोना राई, विद्याकला राई र रोश्मा राईले स्वर्ण पदक जितेको टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । पुरुष कुमितेतर्फ ६७ केजी तौलमा रुरिहाङ दुमि, ७५ केजी तौलमा रोहित बाँस्कोटा, माईनस ८४ केजी तौलमा ईश्वरधन राई, प्लस ८४ केजी तौलमा सागर राउतले स्वर्ण पदक ल्याएका हुन् ।

महिला एकलकातामा रोश्मा राईले रजत पदक ल्याएकी थिईन् । यस्तै, पुरुष कुमितेकै ५० केजी तौलमा सूर्यचन्द्र राई, ५५ केजी तौलमा विवेक थापा, ६० केजी तौलमा अर्जुन श्रेष्ठ र महिला कुमितेमा ६१ केजी तौलमा सुस्मिता राई, माईनस ६८ केजी तौलमा सोना राई र प्लस ६८ केजी तौलमा मिसडोना राईले कास्य पदक प्राप्त गरे । समुह प्रथम भएसँगै १ नम्बर प्रदेशले ८० हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

यस्तै, प्रतियोगितामा ४ स्वर्ण १ रजत र ६ कास्य ल्याएर प्रदेश नम्बर ४ दोश्रो र ३ स्वर्ण ४ रजत पदक ल्याएर बडिगाड डोजो तेश्रो भएका छन् । विजयी दोश्रो टिमले ५० हजार र तेश्रोले ३० हजार नगद पुरस्कारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । विजयी टिमहरुलाई गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजा लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागिता जनाउने समूहले १५/१५ हजार नगद पाएका छन् ।

गाउँपालिकाको २२ लाख ५० हजार, दाताहरुको आर्थिक सहयोगमा आईतबार र सोमबार १७ स्वर्ण, १७ रजत र ३४ कास्यका लागि प्रतियोगिता भएको थियो ।