क्यान्सर पीडित महिलालाई नगरपालिकाले दियो ५० हजार

मंसिर ४ बुधवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग गरेको छ । आन्द्राको क्यान्सरबाट पीडित भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ३१ वर्षीय सरिता राईलाई नगरपालिकाले ५० हजार सहयोग गरेको हो ।

निम्न आर्थिकस्तर भएका राईलाई नगरप्रमुख दिपनारायण रिजालले मंगलबार घरैमा पुगेर आर्थिक सहयोग प्रदान गरेका हुन् । तेश्रो चरण पार गरिसकेका क्यान्सरको उपचार गर्नका आर्थिक अभाव झेली रहेका राईलाई हौसला स्वरुप सहयोग गरिएको नगरपालिकाले जनाएको छ । हाल किमो गराइरहेकी सरिताका श्रीमान वैदेसिक रोजगारीका सिलसिलामा विदेशमा छन् । उनी तीन छोरीका साथमा घर सम्हालेर बसिरहेकी छन् ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका मिर्गौला रोगबाट पिडित राजकुमार राईलाई आर्थिक सहयोग प्राप्त भएको छ । स्थानीय दिपेन्द्र राईको संयोजकत्वमा गठित आर्थिक संकलन सहयोग समितिको पहलमा संकलन गरिएको तीन लाख रकम प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले मिर्गौला रोगी राईलाई हस्तान्तरण गरेका छन् ।

मिर्गौलाको प्रत्यारोपण गर्ने आर्थिक अवस्था नभएकाले आफन्तले उनको सहयोगमा आर्थिक संकलन समिति गठन गरेर सहयोग जुटाउन अभियान चलाई रहेको छ ।