प्रहरीद्वारा चंखेपुमा लगाइएको अवैध गाँजा फँडानी

मंसिर ५ बिहिवार, २०७६
खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा फँडानी अभियानलाई जारी राखेको छ । गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान थालेको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको चंखेपुमा लगाइएको अवैध गाँजा फँडानी गरेको छ ।

ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारबाट खटिएका प्रहरीको टोलीले ३ हजार ६ सय बोट गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा गत कात्तिक २४ गतेदेखि तीन दिन लगाएर करिब १० हजार बोट गाँजा नष्ट गरेको प्रहरीले पुःन सोही क्षेत्रमा गाँजा फँडानी गरेको हो । हत्तपत्त प्रहरी पुग्न नसक्ने क्षेत्रमा गाँजा लगाइएको जानकारीका आधारमा प्रहरी सो क्षेत्रमा पुगेको थियो । गाँजा नष्ट गर्न गएका प्रहरीलाई गाँजा आफै उम्रिएको बताउने गरिएको छ ।

विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ । प्रतिकेजी कम्तीमा पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन् ।

उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ उक्साउने गरेका थिए । सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उव्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायिक रुपमा गाँजा खेती गर्ने गरेका छन् ।