बालाचतुर्दशीः पितृका नाममा हलेसी लगायत विभिन्न शिवालयहरुमा शतबीज छरिँदै

मंसिर ९ सोमवार, २०७६
खोटाङ । बालाचतुर्दशी पर्वको अवसरमा सोमबार देशभरका विभिन्न शिवालयमा शतबीज छरी मनाइँदै छ। हिन्दु पात्रोअनुसार हरेक वर्ष मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने धार्मिक मान्यता छ। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ। यस दिन विशेषगरी दिवंगत पितृहरूको उद्धारको उद्देश्यले उनीहरूको सम्झना गर्दै पशुपतिलगायत विभिन्न शिवालयमा शतबीज छरिन्छ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्छन् ।

मार्ग कृष्ण पक्ष त्रयोदशीका दिन साँझ विभिन्न शिवालयमा तीलको तेलमा बत्ती बाली रातभरि जाग्राम बस्ने र भोलिपल्ट अर्थात् चतुर्दशीको दिन बिहान सबेरै मन्दिरवरिपरि शतबीज छरेर भगवान् शिवजीको दर्शन तथा पूजन गरे समस्त पितृहरूको उद्धार हुने शास्त्रमा उल्लेख छ ।

बालाचतुर्दशीको अवशरमा खोटाङको हलेसीलगायत विभिन्न शिवालयहरुमा भक्तजनको  बाक्लो भीड लागिरहेको छ । बालाचतुर्दशीको दिनदेखि १५ दीनसम्म लाग्ने मेलामा मेला भर्न तथा दर्शन गर्नका लागि अहिले जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीहरुको बाक्लो भीड लागेको छ । बालाचतुर्दशीमा बिशेषगरी आफ्ना दिवाङगत परिवारहरुको सतगतिको सम्झनामा सदविज छर्ने परम्परा रहेकोले हलेसीमा दर्शनार्थीहरुको घुईचो लाग्ने गर्छ ।

हलेसीमा मेला भर्न अहिले स्वदेसी तथा विदेशी भत्तजनहरुको घुईचो लागेको छ । भगवान शिवको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक आस्थाका आधारमा भक्तजन आउने गर्दछन् । बालाचतुर्दशीकै दिन हलेसीमा विराजमान रहेका शिवजी र पावर्तीलाई गहना पहिराउने गरिन्छ । हलेसी तुवाचुङ नगरपालिकाले बालाचतुर्दशीको अवसरमा सार्वजनिक विदा दिएको छ । मंसिर ९ गते सोमबार पर्ने बालाचतुर्दशीको अवसरमा नगरपालिकाले एक दिन नगर क्षेत्रभीत्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

पूर्वको पशुपतिनाथ भनेर चिनीने हलेसीमा लाग्ने बालाचतुर्दशी मेलामा आउने दर्शनार्थीको सहजतालाई लक्षित गरेर नगपालिकाले स्वयमसेवक परिचालन, खानेपानी र सुरक्षाको व्यवस्था गरेको नगर प्रमुख इवन राईले जानकारी दिए ।

पौराणिक मान्यता
भगवान् शिव मृगरूप लिई जहाँजहाँ घुमेका थिए, तीती पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा मात्र बीज छर्दा पनि त्यतिबराबर नै सुन दान गरेबराबरको पुण्य मिल्ने र आफ्ना समस्त पितृले मुक्ति पाउने स्कन्द पुराणमा उल्लेख छ। बाग्मतीकिनारमा रहेको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरी विहार गरेको थाहा पाई त्यही शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिनेको पौराणिक कथा रहेको छ।

यसैगरी पशुपति आर्यघाटमा बस्ने ‘बालानन्द’ नामक मानिस खाजा खान लाग्दा दाहसंस्कार गरिरहेको मुर्दाको टाउको फुटेर उछिट्टिएको गिदी उनको चिउरामा परेको र सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान थाले। साथै उनको लामालामा दाह्री, जुँगा र कपाल देखेर मानिसले उनलाई बालासुर राक्षस भन्न थाले र उनीबाट डराउन थाले। त्यसै समयमा उनलाई चिनेका एकजना बूढाको सल्लाहअनुसार स्थानीयले बालासुरको मीत वृषसिंहलाई उकासेर मार्न लगाएको किंवदन्ती पनि छ।

मीतको हत्यापछि डराएर छटपटाएका वृषसिंहलाई सपनामा भगवान् शिवजीले दर्शन दिई यसै दिन सतबीज छर्न आज्ञा दिएकाले श्लेष्मान्तक वनवरिपरि शतबीज छर्दा बालासुर वैतरणी नदी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्नुपर्ने स्कन्द पुराणमा उल्लेख रहेको हरिप्रसाद सोडारी बताउँछन्।