अभियानको खाँचो

मंसिर १२ बिहिवार, २०७६
खोटाङ । पुरुषको तुलनामा महिलाहरुले धेरै जसो घरायासी काम धान्नुपर्ने स्थिति अहिले पनि हाम्रो समाजमा विद्यमान छ । चुलोचौका, घाँस दाउरादेखि खेतिपातीका अनेक काममा महिलाको मूख्य भूमिका रहने गर्छ । यसका अतिरिक्त महिलाले खेप्नै पर्ने प्रजनन दायित्व पनि छ । यी सबै कामको शिलशिलाबीच हाम्रो समाजमा कतिपय महिलाहरु आङ्खस्ने समास्याबाट ग्रसित रहेको तथ्यांकले देखाउँछ ।

 

यसको न्यूनीकरण र रोकथामका लागि बेला वखत कल्याणकारी संस्थाहरुले उपचार शिविरको तर्जुमा गर्ने गरेका पनि छन् । तर यस्ता कार्यक्रमहरु प्रभावकारी बन्न भने सकेको पाईन्दैन । यसका अनेक कारण हुन सक्छन् । शिविरमा उपचार हुन्छ, तर फलोअफ हुन सक्दैन । कार्यक्रम कामयाव नहुनेमा यो महत्वपूर्ण कडि हो । आङखस्ने समस्या झेलिरहेका कतिपय महिलाहरु परिवार वा समाजमा अपहेलित भइएला भन्ने त्रासले पनि खुल्न सकिरहेका हुदैनन् । रोगलाई लुकाएर राख्ता त्यो अझ बढी संक्रमित हुनु स्वभाविक हो ।

 

चेतनाको न्युनताले गर्दा अग्रज महिलाहरुले सचेत गराउन नसकिरहेको अवस्था छ । यस रोगको निराकरणका लागि पुरुषहरु समेत सहभागी बनी अभियान चलाउन आवश्यक देखिन्छ । वातावरणिय कृषि तथा विकास केन्द्र (केड) ले खोटाङमा महिलाहरुको आङखस्ने सबाल, महिला प्रजनन अधिकार र बालविवाह रोगथाम समन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

यससंग मिलेर अरु संघ सस्था र व्यक्तिले पनि महिलाहरुले खेप्नु परिरहेको यस किसिमको प्रकोपलाई उन्मुलन गर्न सहयोग जुटाउन सके हाम्रो समाजलाई समृद्ध तुल्याउन वाटो खुल्न सक्छ । समाजमा विद्यमान विसंगत पक्षलाई हटाउन जसले जोसंग मिलेर पनि काम गर्नु पर्छ । कुनै पनि रोग पाल्नु हुदैन, फाल्नु पर्छ ।