अन्तरपालिका स्तरीय फुटबल प्रतियोगीता हुँदै

पुस ७ सोमवार, २०७६
खोटाङ । नेकपा निकट खेलकुद महासंघ नेपाल खोटाङले अन्तरपालिका स्तरिय फुटबल प्रतियोगीता गर्ने भएको छ । खेलकुद महासंघले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर आगामी पुस २३ गतेदेखि २८ गतेसम्म अन्तरपालिका स्तरिय फुटबल प्रतियोगीताको तयारी गरेको जानकारी दिएको हो । खोटाङका दुई नगरपालिका र आठ गाउँपालिकाका खेलाडी मात्र सहभागी हुन पाउने प्रतियोगीता खेलकुद महासंघका अध्यक्ष तथा पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको खेलकुद महासंघ नेपाल खोटाङका अध्यक्ष माईतीराज राईले बताए ।

प्रतियोगीताका प्रथम, दोश्रो र सेमीफाइनलिष्ट टिमले क्रमशः १ लाख ५५ हजार, ८५ हजार र ५५ हजार ५५५ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद महासंघले जनाएको छ ।

प्रतियोगीताका मेन अफ दि म्याच, उत्कृष्ट कोच, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र हाइ स्कोररलाई ५ हजार ५५५ रुपैयाँका साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने अध्यक्ष राईले बताए । जिल्लामा हुने हरेक फुटबल प्रतियोगीतामा अन्यत्र ठाउँका खेलाडी ल्याएर सहभागी गराउने गरिएकामा खेलकुद महासंघले स्थानीयस्तरका खेलाडीलाई अवशर दिनेगरी प्रतियोगीता गर्न लागेको हो ।

‘जिल्लामा बेला–बेलामा फुटबल प्रतियोगीता सञ्चालन भइरहेका छन्, तर त्यी खेलमा जिल्लाकाभन्दा जिल्ला बाहिरका खेलाडीले मात्र अवशर पाउने गरेको छ,’ अध्यक्ष राईले भने, ‘त्यसका विपरित ओझेलमा परेका स्थानीय खेलाडीलाई अवशर दिएर खेल क्षेत्रको विकासका लागि पालिका स्तरिय फुटबल प्रतियोगीता गर्न लागिएको हो । यस खेलमा जिल्लाका पालिकाका खेलाडीले मात्र खेल्न पाउने छन् । स्थानीय खेलाडीलाई अवशर दिने प्रयास हो यो ।’

जिल्लाका हरेक गाउँपालिकाबाट एक/एक टिम तथा नगरपालिकाबाट बढिमा दुई टिमलाई सहभागी गराइने आयोजकले जनाएको छ । सहभागी टिमलाई हार नभएसम्मका दिनसम्म दैनिक ६ हजारका दरले सेवा सुविधा दिइने महासंघले जनाएको छ । प्रतियोगीताको अवधिमा २१ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष राईले बताए ।
पत्रकार सम्मेलनमा नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, नेकपाका कार्यालय सदस्य कुमार आचार्य लगायतको उपस्थिति रहेको थियो ।