स्थानीयले बनाइ दिए प्रहरीचौकी तालखर्कलाई नयाँ भवन
पुस ९ बुधवार, २०७६
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका स्थानीयवासीले अस्थायी प्रहरी चौकी तालखर्कलाई सुविधा सम्पन्न भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । स्थानीयवासीको श्रमदान तथा चन्दा सङ्कलन गरि १४ लाख ७५ हजार ८९७ लगानीमा निर्माण गरिएको तीन कोठे भवन मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले रिबन काटेर उद्घाटन गरेसंगै औपचारिक रुपमा प्रहरी चौकी तालखर्कलाई हस्तान्तरण गरिएको हो ।
करीब पाँच महिना लगाएर निर्माण गरिएको भवनमा शौचालय, भान्छाघर, विजुलीबत्ती, खानेपानी, निःशुल्क वाईफाई सेवा लगायत रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम पुरीले बताए । भाडाको घरमा सञ्चालन हुँदै आएको प्रहरी चौकीका लागि स्थानीय भूपाल पुरीले एक र शुभम् फाउण्डेशनले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि श्रमदान र चन्दा सङ्कलनबाट भवन निर्माण गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट उत्तरी क्षेत्रमा पर्ने तालखर्कमा निर्माण गरिएको भवनका लागि स्थानीय तुलसीराम पुरीले ५१ हजार १०५, धौलराज राईले २५ हजार, हिरालाल पुरीले दश हजार, वडा नम्बर–२ सोल्माले ३० हजार, वडा नम्बर–११ खार्मीले १५ हजार, वडा नम्बर–१० पाथेकाले दश हजार र वडा नम्बर–६ नेर्पाले पाँच हजार र स्थानीय तीन टोलिया–जनउत्थान सहकारीले छ हजार सहयोग उपलब्ध गराएको निर्माण उपभोक्ता समितिले जनाएको छ । भवन निर्माणका लागि समुदायको छ लाख ८८ हजार ७९२ श्रमदान तथा नगरपालिकाको जस्तापाता, काठ र दक्ष कामदार ज्याला बापत छ लाख ३५ हजार लगानी रहेको जनाइएको छ ।
वि.सं. २०६४ सालमा स्थापना गरिएको अस्थायी प्रहरी चौकी तालखर्कमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली खटाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, खार्मी, पाथेका तथा जिल्लाको उत्तरी क्षेत्र आवतजावत गर्ने स्थानीयवासीको सुरक्षाका लागि तालखर्कमा प्रहरी चौकी स्थापना गरिएको हो ।
चोरी डकैती, लुटपात तथा झैझगडा भइरहने उक्त क्षेत्रमा स्थानीयवासीको पटक/पटकको अनुरोधमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको जनाइएको छ । तालखर्कमा अस्थायी प्रहरी चौकी स्थापना भएपछि उक्त प्रक्रितिको घटना स्वतः न्यूनिकरण भएको स्थानीयवासी दाजाङ शेर्पाले बताए ।
चौरैतिर जङ्गलले घेरिएको तालखर्क आसपासमा डाका समूह गर्ने लुटपाटको क्रममा धेरैले ज्यान समेत गुमाएका थिए । अस्थायी प्रहरी चौकी स्थापना गरिएपछि अहिले दिक्तेलबजार आवतजावत गर्ने स्थानीयवासी निर्धक्क छन् ।
प्रहरी चौकी उद्घाटन कार्यक्रममा नगर उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक बामदेव गौतम, शसस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक भोला गिरी, वडाध्यक्ष कर्हबहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



