“वासी दिमाग, खालीहात, शैक्षिक वरबाद ”

मानवहादुर खत्री

 

पुस ११ शुक्रवार, २०७६
खोटाङ । हामी शिक्षक भन्ने गर्छौ, अभिभावकले नियमित छोराछोरी विद्यालय पठाई दिएनन्, घरमा नियन्त्रण गरिदिएनन्, विद्यालय व्यवस्थापन समिति नाम मात्रको भयो, शैक्षिक वातावरणको व्यवस्था गरिदिएनन्, विद्यालय निरीक्षकहरुले निरीक्षण गरी सिर्जनात्मक र सकारात्मक राय सल्लाह दिएनन्, श्रोत व्यक्तिहरु स्रोत केन्द्रमा बसेर काम गरदैनन्, विद्यार्थाीहरु घरमा पढ्दैनन्, गृहकार्य गर्दैनन्, शिक्षक अभिभावक संघ जिम्मेवार भएनन्, विद्यालयहरु राजनीतिकरणका अखडा बने, प्रअहरु विद्यालय प्रशासनमा चुस्तदुरुस्त भएनन्, सरकारले समयमा पाठ्यक्रम, पाठयपुस्तक, शिक्षक निर्दोशिका, स्रोत तथा सन्दर्भ सामग्री सर्वसुलभ गर्न सकेन, स्थानीय सरकारले शिक्षामा चासो राख्ने क्षमता राखेन । माथि वर्णित कार्यहरु र कमीकमजोरी भएर नै शिक्षणसिकाई क्रियाकलाप डामाडोल भयो, शैक्षिक गुणस्तर खस्कियो ।

नत्र हामी शिक्षक केही गर्न सक्थ्यौ । सबै शिक्षकशिक्षिकाहरु शैक्षिक भेला, गोष्ठी, तालिम, सेमिनार तथा कार्यशालामा यिनै र यस्तै भ्रामक गफ तथा टिकाटिप्पणी गरेर पंछिने गछौं । सायद पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका शैक्षिक पेशाकर्मीका साझा सोँचाई र कल्पनाहरु यिनै हुन् । हाम्रो स्वभाव अरुलाई दोषरोपण गरेर आफू पन्छिने र दम्भ गर्ने मात्र छ । हामी सबै शिक्षकले कहिल्यै यी प्रश्नहरुको उत्तर सोचेका छौ ? आज मैले योजना बनाए ? यदि बनाएको भए पनि वेन्जामिन ब्लुमको तबहयलयmथ या यदवभअतष्खभक अनुसार भयो ? शैक्षिक सामग्री संकलन, निमार्ण, प्रयोग र उचित व्यवस्थापन गरे ? तालिममा सिकेको सीप प्रविधि कक्षाकोठामा प्रयोग हँुदैछ ?

विद्यार्थीको उमेर, तह, क्षमता, रुचि, मनोविज्ञान र चाहना अनुसार सहजीकरण गर्दैछु ? विद्यार्थी केन्द्रित शिक्षण गर्दैछु ? मूल्याङ्नका सबै विधि ठीक समयमा प्रयोग गर्दैछु ? पाठ्यक्रम, शिक्षक निर्देशिका, स्रोत, सन्दर्भ सामग्रीहरु अध्ययन गर्दैछु ? विद्यार्थी किन विद्यालय आउन चाहादैनन् ? गृहकार्य किन गदैनन् ? वीचैमा पठाई किन छोडछन् ? कहिल्यै अध्ययन अनुसन्धान गरेको छु ? म प्रजातान्त्रिक कि अटोक्रयाटिक शिक्षक ? अभिभावक विद्यालय व्यवस्थापा समितिसँग विद्यार्थी र विद्यालयको बारेमा कहिल्यै प्रष्ट कुरा गरे ? म नियमित रुपमा विद्यालयमा उपास्थित छु कि छैन् ? मैले कहिल्यै विद्यार्थीका निजी समस्या, पीर, व्यथा, कठिनाई र स्वभावको बारेमा सोँचे ? परीक्षा पछाडि उत्तरपुस्तिका विश्लेषण गरी उपचारात्मक शिक्षण गरे ? कक्षाकोठा व्यवस्थापन कहिकतै कमजोरी त गरिन ? वालमैत्री सिकाईको मर्म त बिर्सिन् ? शिक्षण प्रकृयालाई प्रविधिसँग समन्वय गर्न त जानेको छु ? कतै धुम्रुपान र मादक पदार्थ दुङ्दुङ्ती गन्हाएर मादक प्रदार्थ सेवन गर्न हुन्न है त भनेको छैन् ? गोवरको छिटा कन्सिरीमा लगाएर पाईन्ट सुरकेर, नङ्ग्रा पालेर, सर्टको टांकघरमा पाईन्टको टांक अल्झाएर विद्यालय गई भाईबहिनीहरु सफा सुग्घर रहनुपर्छ भनेर विद्यार्थीलाई यातना त दिएको छैन् ? संज्ञानवादी र व्यवहारवादीको धारणाको फ्युजन गरेर मध्यमार्गी बाटो अपनाउन त जानेका छौ ? ल ! अब हेरौं भूमिका कसको बढी ? केन्द्रीय पात्र को रहेछ ? जिम्मेवारी कसको बढी ? यदि व्यवसायिक र समर्पित शैक्षिक सहजकर्ता बन्ने हो भने माथिका सम्पूर्ण प्रश्नहरुको जवाफ सोचेर, मनन गरेर, कार्यन्वयन गर्नुपर्दछ । आफ्नो पेशालाई मर्यादित, आकर्षक, विश्वसनीय वनाउने प्रयास नै गरेनौं । लापर्वाही, अल्छे, कर्मकाण्डी र तलवमुखी भयौं । आफ्नो पेशाको मर्यादा र विश्वास गुमायौं ।

हेरौं केही पेशागत निष्ठाका सजिव उदाहरणहरु एउटा धामीले आफ्नो पेशालाई आकर्षक, विश्वसनिय र सजिवता दिन अरुको मन जित्न एक झोला समानहरु जस्तै माला, चम्मर, ढोल, गजो, जडीबुटि, सर्पका माला, मयूरको प्वाँख, दुम्सीको काँडा आदि किन बोक्छ ? धर्मकर्म अंगालेको पुरोहितहरु आफ्नो झोलामा पुस्तकहरु, पात्रो, चानचुने पैसा, फूलफलेदो, जनैसुपाडी, प्राय साथै किन बोक्छन् ? एउटा कृषकको घरमा हलो, कोदालो, जुवा, अनौं, सोईला, जोतारो, ढेडी, हल्लुङ आदि सबै समानको जगेडा किन हुन्छ ? यी सबै आफ्नो पेशालाई आकर्षक, विश्वसनीय र सजिवता दिने अव्यवहरु हुन ? हामी शिक्षकहरु कक्षाकोठामा प्रवेश गर्दा के–के सामग्रीहरु लिएर जान्छौ ? रित्तो हात ।

कतिपय हामी शिक्षकहरु विद्यार्थीबाट पुस्तक माग्ने साथै आज कुन पाठ हो भनेर सोध्ने हर्कत गछौं । कस्तो विडम्वना, लाज सरम, निकम्मा ? खै हाम्रो शैक्षिक सामग्रीको झोला ? यदि झोला भएपनि विल, भर्पाइ, भेजाको मासुको बही तथा विद्यालयबाट फर्किदा घाँस स्याउला काट्ने खुकुरी, कचिया, नाम्लो त छैन झोलामा ? हामी शिक्षकसँग एउटा घमण्ड छ मैले स्नातक, स्नातकोत्तर, एम फिल गरेको छु यतिबर्ष, उतीवर्षको अनुभवले खारिएको छु । हामीले एउटा घतलाग्दो र मार्मिक भनाई दार्शनिक अरस्तुको मनन् गर्नुपर्दछ “म केवल एउटा कुरा मात्र जान्दछु, त्यो के हो भने म केहीपनि जान्दिन्” समय परिवर्तनशिल छ । विज्ञान र प्रविधिको विकासले संसारलाई साँधुरो बनाएको छ ।

हिजो पढेको पुराना र वासीखुराकहरु आज काम लाग्दैनन् । शिक्षक अध्यावधिक हुने कि नहुने ? डिजिटल डाइनोसर बन्ने कि डिजिटल माईग्रान्ट ? विद्यार्थीलाई डिजिटल नेटिभ बनाउने कि नवनाउने ? हामी ज्ञान विस्तारको पहिलो क्रान्ति (लिपिको विकास) मा जन्मेर, ज्ञान विस्तारको दोस्रो क्रान्ति (छापाखानाको विकास) मा थोरै अध्ययन गरेर पेशेवर भयौं अब ज्ञान विस्तारको तेस्रो क्रान्ति (सूचना तथा सञ्चार प्रविधिको विकास) तर्फ अगाडि पढ्ने कि ? विद्यार्थीलाई पूरानै सताब्दितिर फर्काउने ? हाम्रो माष्तिस्क बासी, पूरानो र भुत्तो भैसकेको छ । एउटा सिकर्मी चार घण्टा काम गर्नको लागि दुई घण्टा औजार धार लगाउँछ, एउटा कृषक खेतिमा जानुअघि सम्पूर्ण हातहतियार र साधन मर्मत गर्छ ।

यिनको आसय पेशाको तयारी, सहजता र पूनर्ताजकिवरण हो । हामी शिक्षकहरु पत्रपत्रिका, शैक्षिक वुलेटिन, स्रोत सामग्री, अध्ययन गरेर, विचार सेयरिङ गरेर, आफ्नो बासी दिमाग कतिको उजिल्याउँदैछौं । हामी आस्थाको भन्दा पेशाको राजनीति वढी गर्न थाल्यौ । पेशालाई गौण बनाई अन्य साइड ‘जव’ लाई प्राथमिकताको सूचिमा राख्यौ । नेता, कार्यकर्ता, व्यापारी, ठेगदारी, दलाली सबैमा हात हाल्न थाल्यौ । हामी कहाँ चुक्यौ ? कहाँ नेर बाटो बिरायौ ? किन बिरायौ ? के हामी शिक्षकको मानमर्दन भएर हो ? हामी वेकम्मा भएरै हो त ? उपाय केही नभए, उपाय सुझाउने, उपायको खोजी किन गरेनाँै ? राजनीतिले चरम हस्तक्षेप गरेको भए, हामी किन राजनीतिक झौले बन्यौ ?

जवरजस्ती झोला बोकाउने अभिष्ट त हैन होला ? तलवभत्ता, विदाको सहुलियत आकर्षक नै छ । भ्रष्टाचार विनाको चोखो कमाई छ । पवित्र पेशा छ । किन लत्ता छाड्यौ ? शैक्षिक ज्वलन्त समस्या के हो ? खोजी गरेर निराकरण किन गरेनौ ? हाम्रा शैक्षिक जायज मागहरु, आवश्यकताहरु वाधक भएका भए सम्वन्धित निकायमा किन आवाज बुलन्द गरेनौं ? हरेक कोणबाट नियाल्दा कमजोरी त हाम्रो नै देखिन्छ । कतै हामी शिक्षकहरु निभेका ममवत्ती त भएनांै ? हामीले टिमवर्क, हार्डवर्क र नेटवर्कको मर्म त विर्सेका छैनौं ? हामीले विद्यार्थीलाई साक्षर मात्र बनाउने प्रयास गर्दैछौ । या मानव मूल्यमा आधारित शिक्षाको मर्म जस्तै जान्न, गर्न, बन्न र सँगै बस्न सहयोग पु¥याउने शैक्षिक खुराक पस्कदै छौ ? पेशागत धर्म, मानवीय धर्म, शिक्षकका आचारसंहिता, शैक्षिक ऐन, नियमावलीको दायराभित्र आफूलाई अटाएर विरोध गरौं । सुधार शिक्षकबाटै हुन्छ । आफनो दुनो सिधा वनाएर केही मागौ । अब जटिल, भयावह, मोड आईसक्यो । अती भयो, खती भयो, अब ओखती खोजेर उन्नतितिर लाग्नुपर्छ । पेशेवर बन्नै पर्छ । खिया, धुलो टक्टक्याउनु पर्छ, मस्तिष्क सर्भिसिङ गर्नुपर्दछ । अब एक पटक लक्ष्मण रेखाभित्र वसेर रामवाण हान्ने भगिरथ प्रयास गरौँ त । मन, वचन र कर्मले समर्पित भएर लागांै, अपुग भए निकायमा मागांै यति गर्न पनि नसके पेशाबाटै भागौं । (लेखकः खत्री सरस्वती मावि मात्तिम खोटाङका शिक्षक हुन्