हत्या गरिएका प्रअको स्मृतिमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता हुने

पुस १२ शनिवार, २०७६
खोटाङ । खोटाङमा द्वन्द्वको समयमा १८ वर्षअघि हत्या गरिएका प्रअको स्मृतिमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । २०५८ साल माघ ३ गते हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माविका तत्कालिन प्रअ हर्कबहादुर राईको स्मृतिमा आगामी माघ ३ गतेदेखि ५ गतेसम्म अन्तर मावि स्तरिय भलिवल प्रतियोगीता गर्न लागिएको हो ।

शहीद हर्कबहादुृर राई स्मृति प्रतिष्ठानको आयोजनामा चिसापानी नमूना माविको प्राङ्गणमा प्रतियोगीता गर्न लागिएको प्रतिष्ठानका सचिव बाजिन्द्र बिष्टले बताए ।

भलिवल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २५ हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले १५ हजार र तेश्रो स्थान प्राप्त समुहले १० हजार प्राप्त गर्ने छन् । भलिवल प्रतियोगीताका साथमा अन्तर मावि स्तरिय एकल छात्रा नृत्य प्रतियोगीताको समेत आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । कार्यक्रम कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।

नेपाल शिक्षक संघ खोटाङका तत्कालिन अध्यक्ष रहेका राईलाई तत्कालिन नेकपा माओबादीका कार्यकर्ताले विद्यालयबाट अपहरण गरी काहुले, डम्बर्खुशिवालय र चिसापानीको सिमामा पर्ने हुम्मापोखरीमा लगेर हत्या गरेको आफन्तको भनाई छ ।

किरात वर्कर्स पार्टीबाट नेकपा माओबादीमा प्रबेश गरेका कार्यकर्ताले राईको हत्या गरेका थिए । कार्यरत विद्यालय नजिक राखिएको राईको समाधिस्थल महिना दिनपछि उत्खनन गरी चिसापानीको बिपीचोकमा लगेर जलाइएको घटना रहस्यमय रहेको प्रतिष्ठानका सचिव बिष्टले बताए । द्धन्द्ध कालमा मारिएका शिक्षक राईलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको छ ।