शिलान्यासको भएको ६ महिनापछि काम सुरु

फाइल तस्विर ।

पुस १२ शनिवार, २०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुलको काम शिलान्यास भएको ६ महिनापछि सुरु गरिएको छ । ठेकेदारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको बिचमा रहेको साप्सु खोलाको बाटोफेदीमा निर्माण गरिने प्रिस्ट्रेस विम पुलको काम शिलान्यास भएको ६ महिनापछि सुरु गरिएको हो ।

कामै नगरी ६ महिना विताएको ठेकेदार कम्पनी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ढिलागरी पुलको प्रारम्भिक चरणको काम थालेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले वताए । शिलान्यास भएको लामो समयसम्म पुलको काम सुरु नहुँदा ठेकेदारको आलोचना सुरु भएको थियो ।

स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले गत असार ११ गते शिलान्यास गरेका थिए ।दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खादेखि खानीडाँडा जोड्ने सडक खण्डमा पर्ने प्रिस्ट्रेस बीम पुल २०७८ साल जेठ १७ गते सम्पन्न गर्ने गरी सूर्य एण्ड सन्स प्रालि सुनसरीले ठेक्का लिएको हो ।

४० मिटर लम्बाई भएको पुल निर्माणका लागि २०७६ साल जेठ १७ गते सम्झौता भएको थियो । दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने पुल मूल्य अभिबृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५४५ मा ठेक्का लिएको निर्माण कम्पनी सूर्य एण्ड सन्स प्रालिका साईड ईन्चार्ज हरिप्रसाद बरालले बताए । उनले निर्धारित समयमा पुल तयार पारेर हस्तान्तरण गर्ने जनाएका छन् ।

‘पुलको काम समयमै बन्नु पर्छ । मितिमा तलमाथि गर्न दिइन्न,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘समयमा पुल बनेन भने निर्माण कम्पनीले फलामको चिउरा चपाउनुपर्ने अवस्था आउँछ ।’
साप्सु खोलामा पक्की पुल निर्माण भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिकाका याम्खा, टेम्मा, डाँडागाउँ, छितापोखरी, बतासे, छोरम्बु, चिप्रिङ लगायतका स्थानीयलाई साविकको सदरमुकाम दिक्तेल आउ–जाउ गर्ने सवैभन्दा छोटो बाटो खुल्ने छ ।