दिप्रुङको याम्खामा एक दिने बाली उपचार शिविर

 

पुस १३ आइतवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा एक दिने बाली उपचार शिविर सञ्चालन गरिएको छ । किसानहरुले लगाएको विभिन्न बालीहरुमा रोग र किराहरुको पहिचान गर्न सघाउँ पुर्याउने उद्देश्यले आईतबार बाली उपचार शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र खोटाङको आयोजनामा गरिएको बाली शिविरमा तरकारी बाली, खाद्यन्न बाली, नगदे बाली र फलफुल बालीहरुको नमुना परिक्षण गरिएको गाउँपालिकाका कृषि संयोजक लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिए । बालीहरुमा किरा र रोगहरु लागे/नलागेको माइक्रोस्कोपबाट हेरेर पहिचान गरिएको थियो ।

शिविरमा ५२ वटा नमुनाहरु चेकजाँच गरेर रोग अनुसारको विषादि प्रयोग गर्न सुझाव दिएको कृषि संयोजक रेग्मीले जनाए । शिबिरबाट कृषकहरु लाभान्वित भएको जनाइएको छ । बालीहरुमा लागेको रोगको पहिचान भईसकेकाले तत्कालका लागि विषादिको व्यवस्था कृषकले गर्नुपर्ने र केही समयपछि पालिकाले व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।