राष्ट्रिय आविष्कार केन्द्रलाई कृषि विज्ञको सहयोग

पुस १८ शुुक्रवार, २०७६
खोटाङ । कृषिविज्ञ मदन राईले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेका छन् । खोटाङ घर भएका कृषिविज्ञ राईले वैज्ञानिक तथा सामाजिक अभियान्ता महावीर पुनमार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार प्रदान गरेका हुन् । कृषिविज्ञ राईले राष्ट्रिय आविष्कार केन्द्रकै कार्यालयमा पुगेर पुनलाई चेक हस्तान्तरण गरेका छन् ।

 

आविष्कार केन्द्रको नेतृत्व गरिरहेका पुनको हौसलाका लागि रकम सहयोग गरिएको कृषिविज्ञ राईले बताएका छन् । ‘अनुसन्धानबाट आविष्कार नगरी आधुनिक मानव संसार समृद्ध हुन सक्दैन । सरकारले नसके नचाहेपनि देशबासीले सकेको सहयोग गरे आविष्कारबाट मानब भलाइकै काम हुनेछ,’ कृषिविज्ञ राईले भने, ‘सरकारको पनि कुनै दिन आँखा खुल्छ नै होला । खुले सरकारकै भलाइ हुने थियो । सरकारमा पुग्नलाई र पुगेर टिक्नलाई कसरत गर्दागर्दै सरकारमा बस्नेहरूका लागि यस्ता काम झिनामसिना देखिने रहेछ जुन अतिनै दुर्भाग्य हो ।’

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने किसिमका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी पुनको पहलमा राष्ट्रिय आविष्कार केन्द्र केन्द्र स्थापना गरिएको हो । पुनका लागि देश तथा विदेशबाट सहयोग जुट्नेक्रम जारी छ ।

यस्तै, संयुक्त आवाज परिवर्तन समाजका संस्थापक सदस्यको पहलमा राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख ४५ हजार रकम प्रदान गरिएको छ । संयुक्त आवाज परिवर्तन समाजले स्वदेश तथा बिदेशमा रहेका संस्थापक सदस्य एबं सहयोगी दाताबाट रकम संकलन गरेर महावीर पुनलाई रकम हस्तान्तरण गरेका छन् । ३१ जनाबाट संकलन भएको रकम समाजका अध्यक्ष बिन्द्राराज राईले हस्तान्तरण गरेको समाजका संस्थापक सदस्य कृष्णकला राईले बताईन् । फेसबुक ग्रुपबाट सञ्चालित समाजले विभिन्न सामाजिक हितका क्षेत्रमा काम गर्दै आएको छ ।