बिरामीप्रति स्वास्थ्यकर्मीको भूमिका

युवराज रोइला

पुस १८ शुक्रबार, २०७६
खोटाङ । हरेक मानिस स्वस्थ रहन चाहन्छ । स्वस्थ भन्नाले कुनै रोग नलागेको तन्दुरुस्त अवस्था हो । हाँसीखुसी जीवन बिताउन र सफल जीवन जिउनका लागि सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य हो । स्वास्थ्य राम्रो छ भने मात्र सफलता हात पर्छ । निरोगी मानिस सधै सक्रिय र लगनशील रहन्छ । तर अस्वस्थ मानिस निस्क्रिय भएर सधै तनावमा रहन्छ, केही काम गर्न सक्दैन र सफलताले उसलाई साथ छोड्दै जान्छ । स्वस्थ व्यक्तिले मात्र आफ्ना अगाडि प्राप्त भएका अवसरहरुलाई उपयोग गर्न सक्दछ ।त्यसैले जीवनलाई उद्देश्यपूर्ण र सफल बनाउन स्वस्थ रहनु जरुरी छ ।

 

तर सँधैभरि मानिसलाई एकै किसिमको वातावरण उपलव्ध हुँदैन । विभिन्न कारण जस्तैः वातावरण, खानपान आदिमा तलमाथि पर्दा वा दुर्घटनामा परेर पनि मानिस बिरामी वा अस्वस्थ बन्न सक्छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहन्छ । स्वास्थ्यकर्मी भनेको विरामी वा रोगीको उपचार गरी स्वस्थ बनाउने मानिस हो । बिरामी व्यक्तिले जीवन भोग्न स्वास्थ्यप्रति सजग रहनु पर्छ । त्यसैले हरेक बिरामी व्यक्तिको जीवन स्वास्थ्यकर्मीको हातमा हुन्छ ।

 

बिरामीहरुको सेवा र उपचारमा दिनरात लागिपर्ने स्वास्थ्यकर्मी स्वयम्मा मर्यादित र सम्मानित पेशा हो । सेवा व्यवसाय भएकाले स्वास्थ्य क्षेत्रको ज्ञान हासिल गर्ने मान्छेले अन्यको तुलनामा छिटो रोजगारीको अवसर पाएर एकातिर आफ्नो जीवन सुखी बनाउँछ भने अर्कातिर अरुको सेवाले आत्मसन्तुष्टि र सम्मान पनि पाउँछ । यस्तो प्रशंसनीय र सम्मानित पेशालाई मर्यादित र अनुशासित बनाउनु प्रत्येक स्वास्थ्यकर्मीको दायित्व हो ।

 

बिरामीसँग नम्र र मीठो बोल्ने, सँधै हाँसी खुशी रहने र मानवीय व्यवहार गर्ने गुण प्रत्येक स्वास्थ्यकर्मीमा हुनुपर्दछ । आफ्नो ज्ञानको भरपुर उपयोग गरेर निस्वार्थ रुपमा बिरामीको सेवा गर्ने व्यक्ति मात्र सफल स्वास्थ्यकर्मी बन्न सक्छ । अर्धज्ञान हासिल गरेर स्वास्थ्य क्षेत्रमा लाग्नु भनेको अरुको जीवनमाथि खेलबाड गर्नु हो । त्यसैले यस क्षेत्रमा लाग्ने मानिसले जतिसक्दो धेरै ज्ञान हासिल गरेर सोचविचारका साथ उपचारमा संलग्न हुनुपर्छ ।

 

सिक्नका लागि केही प्रयोगात्मक उपचार गर्दा कसैको ज्यान जान सक्छ । यसतर्फ स्वास्थ्यकर्मी सदैव सचेत रहनु पर्दछ । हामीले स्वास्थ्यकर्मीको लापरवाहीले हुने गरेका विभिन्न घटनाहरु समयसमयमा सुन्ने गरेका छौँ । कहिले थाइराइडको अप्रेसन गर्न गएको विरामीको पाठेघर निकालेर फालेको, अप्रेसन गर्दा पेटभित्र कपडा अथवा अन्य केही उपकरण छोडिएर बिरामीले सास्ती खेप्नु परेको, खोप लगाउने वित्तिकै बच्चाको मृत्यु भएको आदि घटनाहरुले स्वास्थ्यकर्मीप्रतिको विश्वसनीयतामा शङ्का पैदा गराउँछ ।

 

वास्तविक रोगको निदान नगरी उपचार गर्न थाल्दा नभएको रोग उल्टै विरामीलाई उब्जिन सक्छ । पैसाको लोभमा परेर आफ्नो क्षमताभन्दा माथिको उपचारमा संलग्न भइदिदाँ बिरामीको ज्यान जान सक्छ । स्वास्थ्यकर्मी भन्ने बित्तिकै सबै प्रकारका उपचार गर्न जानिन्छ भन्ने होइन । आफूले नजानेको वा आफ्नो ज्ञान क्षेत्रको भन्दा बाहिरको बिरामी भएमा त्यससँग सम्बन्धित चिकित्सकलाई देखाउन लगाउनु प्रत्येक स्वास्थ्यकर्मीको प्रमुख दायित्व हुन्छ ।

 

त्यसैले उपचार जस्तो संवेदनशील कुरामा सबै स्वास्थ्यकर्मी उत्तिकै संवेदनशील हुनु जरुरी छ । कसैको जिन्दगीमाथि कहिल्यै खेलबाड गर्नुहुँदैन । आफ्नो पेशालाई मर्यादित बनाउनका लागि प्रत्येक स्वास्थ्यकर्मी सधै प्रयन्तरत रहनुपर्दछ । किनकि एकजनाको लापरवाही वा गल्तीले सम्पूर्ण स्वास्थ्य क्षेत्रमा नै नराम्रो असर पार्दछ ।

 

त्यसैले एउटा रोगीलाई स्वस्थ बनाउन त महत्वपूर्ण जिम्मेवारी हुन्छ नै, त्यसका साथै स्वास्थ्य पेशालाई मर्यादित, अनुशासित र प्रशंसनीय बनाउनका लागि स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहन्छ । जय स्वास्थ्यकमी, जय स्वास्थ्य, जय पत्रकारिता