विश्व साईकल यात्रामा निस्कन लागेका साईकल यात्रीको बिदाई

पुस १८ शुक्रवार, २०७६
खोटाङ । खोटाङका साईकल यात्री कर्ण श्रेष्ठले विश्व साईकल यात्राको तयारी गरेका छन् । केही समयअघि मात्र नेपालका ७७ वटै जिल्लाको साईकल यात्रा पुरा गरेका श्रेष्ठले पुःन विश्व साईकल यात्राको तयारी थालेका हुन् ।

धार्मिक तथा पर्यटकीयस्थलको प्रचार–प्रसार गर्दै पर्यटन प्रवद्र्धमा सघाउँ पु¥याउने लक्ष्यका साथ राष्ट्रव्यापी साईकल यात्रा पुरा गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका श्रेष्ठलाई शुक्रबार जिल्ला समन्वय समितिबाट सफल यात्राको कामना गर्दै विदाई गरिएको छ ।

‘विश्व शान्ति कायम गरौं’ भन्ने नाराका साथ विश्व साईकल यात्रामा निस्कन लागेका श्रेष्ठलाई जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर विश्वकर्माले खादा ओढाएर राष्ट्रिय झण्डा प्रदान गर्दै विदाई गरेका छन् ।

२०७५ साल चैत ३ गते राष्ट्रव्यापी साईकल यात्रामा निस्केका श्रेष्ठले २०७६ साल असोज ९ गते चितवन पुगेर भ्रमण पुरा गरेका थिए । श्रेष्ठ विश्व शान्तिको कामनामा पुःन विश्व साईकल यात्रामा निस्कन लागेका हुन् ।

दुवईबाट सुरु हुने विश्व साईकल यात्रा कतार, ओमन, साउदीअरब, कुवेत, वहराईन लागायतका खाडी मुलुक तथा एसियन मुलुक हुँदै यूरोपियन मुलुकमा पुग्ने श्रेष्ठले बताए ।

‘साईकल यात्राका लागि परराष्ट्र मन्त्रालयबाट अनुमती लिइसकेको छु । भिसा पनि आइसकेको छ,’ विदाईकाक्रममा श्रेष्ठले भने, ‘दुवईबाट साईकल यात्रा सुरु हुन्छ । गल्फ कन्ट्रीको यात्रा पछि एसियन हुँदै यूरोपियन कन्ट्रीमा पुग्ने छु ।’ साईकल यात्री श्रेष्ठका आमा नरछिमी श्रेष्ठ, श्रीमती देवीका श्रेष्ठ र दुई छोरा छन् ।