घाइते आचार्यलाई साँढे चार लाखभन्दा बढि आर्थिक सहयोग

पुस १९ शनिवार, २०७६
खोटाङ । एम्बूलेन्स दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई साँढे चार लाखभन्दा बढि आर्थिक सहयोग प्राप्त भएको छ ।

बिरामी आफन्तलाई अस्पताल लैजानेक्रममा गत असोज २ गते राती सप्तरीमा भएको एम्बूलेन्स दुर्घटनामा गम्भीर घाईते भएपछि हालसम्म उपचार गराइरहेका आचार्यलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका विद्यालय तथा वालविकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीबाट ४ लाख ५१ हजार ५१० रुपैयाँ सहयोग प्राप्त भएको हो ।

सरस्वती मावि दिक्तेलमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका आचार्यको सहयोगमा नगरपालिकाभित्रका शिक्षक तथा विद्यालय कर्मचारी एकजुट भएका हुन् । शिक्षक तथा कर्मचारीको एक दिनको तलव कटाएर संकलन गरिएको रकमको चेक शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेबी राईले सरस्वती माविका प्रअ ध्यानबहादुर राईमार्फत आचार्यलाई चेक हस्तान्तरण गरेका छन् ।

कार्यालय सहयोगी आचार्यको सहयोगमा नगरपालिकाभित्रका ९३ विद्यालयका ४९७ शिक्षक, वालविकास केन्द्रका ६४ शिक्षक तथा ११६ जना विद्यालय कर्मचारीको तलवबाट कट्टा गरेर रकम जम्मा गरिएको हो । प्राप्त भएको रकम ‘युवराज आचार्य बचाऔं’ अभियानको खातामा जम्मा गर्ने जनाइएको छ ।

उपचारकाक्रममा विराटनगर हुँदै अन्नपूर्ण न्यूरो अस्पताल काठ्माण्डौंमा पु¥याइएका युवराजको बेहोस अवस्थामा रहेको ९९ दिनपछि पुस ११ गते सामान्य होस खुलेको आफन्तले बताएका छन् ।

गम्भीर अवस्थामा रहेका आचार्यको उपचारमा आर्थिक समस्या भएपछि आफन्त तथा छरछिमेकबाट सहयोग जुटिरहेको दाजु झमप्रसाद आचार्यले बताए ।