पैसा नपाएपछि कामदारले रोके सडक कालोपत्रेको काम

पुस २१ सोमवार, २०७६
खोटाङ । लामो समयसम्म पारिश्रमिक नपाएपछि कामदारले खोटाङको महुरे–राजापानी सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम अवरुद्ध बनाएका छन् ।

ठेकेदार कम्पनीले वर्षौँसम्म पारिश्रमिक नदिएर झुलाएपछि कार्यरत कामदारले गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि सिमपानी (राजापानी) सम्मको सडक कालोपत्रेका काम ठप्प बनाएको प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले बताए ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा दुई महिनाअघि भएको छलफलमा निर्माण कम्पनी भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका प्रतिनिधिले पुस २० गतेसम्ममा पारिश्रमिक भुक्तानी गर्ने कागज गरेका भए पनि सम्झौता अनुसारको भुक्तानी नदिएपछि सडकको काम रोकेको कामदारको भनाई छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका कामदारको विजयखर्कको मालामा सोमवार भएको भेलाले काम ठप्प बनाउने निर्णय गरेको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए ।

तोकिएको मितिमा पारिश्रमिक नपाएको बिरोधमा सो सडक खण्डमा काम गरिरहेका डेढ सयभन्दा बढि कामदारले आ–आफ्नो काम रोकेका छन् ।

आक्रोशित कामदारले निर्माण कम्पनीको ६ वटा टिफर, १ वटा पानी ट्यांकर, २ वटा स्काभेटर, १ वटा बोलेरो र १ वटा व्याकहोलोडरको चाँबी नियन्त्रणमा लिएर प्रहरी चौकी बुईपालाई बुझाएको प्रशासनले जनाएको छ ।

लामो समयसम्म कामदारलाई पारिश्रमिक नदिएका ठेकेदारले सडक आसपासका होटल व्यवसायी, खाद्य तथा किराना पशल, पेट्रोल पम्प लगायतको उधारो रकम समेत नतिरेको बताइएको छ ।

कामदारले सडक कालोपत्रेका काम ठप्प बनाएको विषयमा बुझ्न खोज्दा भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका साईड इन्चार्ज पुष्प शाहीसँग सम्पर्क हुन सकेन ।