आमूल परिबर्तन र चटकी कमरेडहरु !

दिलीप राई

 

ओ कमरेडहरु !
आमूल परिवर्तनको लागि
युध्दमा हिडेका भन्थ्यौ
जनताको लागि,
क्रान्तिमा लागेका भन्थ्यौ
चरम गरिबी र,
भ्रष्टचार अन्त्यको लागि
पार्टिमा पसेका भन्थ्यौ
शोषण उत्पिडन,
समूल नष्ट गर्छु भन्थ्यौ
बेरोजगारलाई
रोजगार बनाउछु भन्थ्यौ,
धनी गरिब,
बराबरी पार्ने भन्थ्यौ
समाजबाद हुँदै साम्यबाद
पार्कोर्टी लक्ष्य ठान्थ्यौ
यथार्थमा,
आमूल परिवर्तन गर्ने भन्थ्यौ।
तर कमरेड,
अरु त त्यस्तै उस्तै हो
आफ्नो र आफन्तहरुको चाहिँ
आमूल परिवर्तननै गरेछौ।

सुनेको छु,
झुपडिलाई बवस्थापित गरि
भव्य महलमा सरेछौ
चिल्लो गाडिमा चिप्लन थालेछौ
धैलामैला लुगा फुकालेर
चम्किलो पोशाक पहिरिएछौ
च्याख्ला र ढिडो छिर्न छोडेछ,
लन्च र डिनर लिन थालेछौ।
कहिलेकाँही पैदलै हिड्नपरे
रातो कार्पेट बिछ्याएर
सवारी चलाउन थालेछौ।
तिम्रो वरिपरिको भिडले
मुठ्ठी उठाएर,
लाल सलाम हैन,
धनुष्टङ्कार गर्दा रहेछन।
देशद्रोही, राष्ट्रघातीहरु
तिम्रै शरण पर्दारहेछन।

हो कमरेड,
युद्धमा हामी
छिन्न भिन्न भएपछि
यो लामो समयको अन्तरालमा
तिमी शीत,भलाकुसारी गर्ने मन थियो
बम र बारुदले क्षतबिक्षत
यो अपाङ्ग शरिर देखाउनु थियो
युद्धमा लागेका गोलिहरु
अप्रेशन गरेर निकालिदेउ भन्नू थियो।
भोकैतिर्खै बसेको थुप्रै कथाहरु थियो
उपचार नपाई मृत्यू पर्खिरहेकी
जीवन संगिनीको दर्दहरु सुनाउनु थियो।

अपसोछ,
तिम्रो दर्शन पाउनत
यति दह्रो सुरक्षा घेरा रहेछ
फलामको च्युरा दातले फोड्न जस्तै रहेछ।
माहाभारतको युद्धमा कौरबहरुले बनाएको चक्रब्यूह
अभिमन्यूले तोड्न जस्तै गाह्रो रहेछ।
  दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे, खोटाङ !