जनसेवा वचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोबार ४ करोड ८८ लाख

पुस २८ सोमवार,२०७६
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार ४ करोड ८८ लाख नाघेको छ । वचत गर्ने र आयमूलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पु¥याउने उद्धेश्यले जनसेवा समाज नेपालको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीले आर्थिक वर्ष २०७५÷०७६ मा ४ करोड ८८ लाख ७८ हजार ३५५ रुपैयाँ कारोवार गरेको हो ।

शनिवार जालपामा सम्पन्न २३ औं साधारण सभामा सहकारीको निक्षेप ३ करोड २६ लाख २९ हजार ९०१ रुपैयाँ पुगेको, कर्जा लगानी ४ करोड ४९ लाख ६० हजार ४७० रुपैयाँ, ऋण असुली ४ करोड ५० लाख ४० हजार १५८ रुपैयाँ र शेयर पुँजी ३५ लाख ५८ हजार ३०० रुपैयाँ पुगेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचार लगायतका शीर्षकमा ११.५ प्रतिशतदेखि १५ प्रतिशतका दरले ऋण प्रवाह गर्दै आएको सहकारीले साधारण सभामा शेयर सदस्यलाई ८ लाख ३३ हजार ९८५ रुपैयाँ बोनस बाँडेको छ ।

शेयर लाभांश कोष, संरक्षित पुँजी फिर्ता कोष, घाटा पूर्ति कोष, सदस्य शिक्षा कोष, कर्मचारी बोनस कोष, सहकारी संस्था विकास कोष, दुवन्त ऋण कोष, सहकारी प्रवद्र्धन कोष, अनुदान प्राप्त कोष, सामुदायिक विकास कोष र स्थिरिकरण कोषमा विनियोजन गरेपछि बाँकी रहेको १५ प्रतिशत रकमलाई बोनसका रुपमा बाँडिएको जनसेवा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले वताए । सहकारीको साधारणसभा पूर्वसांसद टंक राईले उद्घाटन गरेका थिए ।

साधारण सभाले सहकारीका अध्यक्ष श्रेष्ठले पेश गरेको वार्षिक प्रगती प्रतिवेदन, व्यावस्थापक बन्दना राईले पेश गरेको लेखा परिक्षण प्रतिबेदन र चालु आवको अनुमानित आयव्याय, कोषाध्यक्ष अम्विका राई र सदस्य देवेन्द्रकुमार राईले पेश गरेको शेयर सदस्य नीतिपत्र, शेयर नीतिपत्र, वचत नीतिपत्र, ऋण नीतिपत्र र विनियन संशोधन सहित पास गरेको छ ।

 

नियमित वचत गर्ने, ऋण किस्ता फिर्ता गर्ने, तोकिएको शेयर संख्या पु¥याउने र उद्धेश्य अनुशार लगानी गर्ने सूचकका आधारमा १३ जना उत्कृष्ट शेयर सदस्यलाई साधारणसभाकै अवशरमा पुरस्कृत गरिएको छ । उत्कृष्ट शेयर सदस्यलाई जनही दुई हजारका साथमा सम्मानपत्र प्रदान गरिएको छ ।

विभिन्न शिर्षकमा बचत गरेवापत ८ देखि ११ प्रतिशतसम्म व्याज दिँदै आएको सहकारीले नियमित वचत, ऐच्छिक वचत, ऋण परिचालन, आवधिक वचत, स्वास्थ्य कोष, मनीट्रान्सफर लगायतका सेवा प्रवाह गर्दै आएको छ । जालपा, खार्मी र हौंचुर कार्यक्षेत्र बनाएको सहकारीले विना धितो एक लाखसम्म ऋण उपलव्ध गराउने गरेको हो ।

२०४८ सालमा साक्षरता कक्षामा सहभागी बनेको महिलाले जनही २ रुपैयाँका दरले सुरु गरेको वचत समुहलाई २०५३ सालमा औपचारिक रुपमा सहकारी संस्थाकोरुपमा दर्ता गरिएको हो । हाल जालपा, खार्मी र हौंचुरका ८९ वचत समुहका १ हजार ३४४ शेयर सदस्य (महिला ७९६, पुरुष ५४८ र वालवालिका ३५४) रहेको सहकारीले दैनिक ५ लाख बराबरको रेमीट्यान्स कारोबार गर्दै आएको जनाएको छ । कार्यक्रममा जालपाका वडाध्यक्ष विकास राई, सालपा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत इश्वरमान राई लगायतको उपस्थिति रहेको थियो ।