पराइको इसारामा भड्किएको साम्प्रदायिकता

माघ २ बिहीवार, २०७६
खोटाङ । नेपाल एक भूपरिवेष्ठित, वहुभाषिक, वहुधार्मिक,वहुसांस्कृतिक, वहुजातिय र वहुविविधतायुक्त अखण्ड अभिाज्य, सार्वभौमसत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । प्राकृतिक सम्पदाले भरिपूर्ण, धार्मिक सहिष्णुता, अनेकतामा एकता, वसुदैव कुटुम्वकम अनि आपसी भाइचाराको सम्वन्धलाई सिरोधार्य गर्नु सक्कली नेपालीहरुको विशेषता र कर्तव्य हो ।

यतिमात्र विशेषताले नेपालको वर्णनलाई सायद अपुरो बनाउँछ । नेपालका विश्व कृर्तिमानी र विद्ययमान विशेषताहरु अनगिन्ती छन् । सगरमाथाको देश, शान्तिका अग्रदुत तथा अहिंसाका पूजारी गौतम वुद्ध जन्मेको देश, वहादुर गोर्खालीहरुको देश, मन्दिरहरुको देश, जलस्रोतको दोस्रो धनी देश, गिनिज बुकमा अथाह विश्व कृतिमान दर्ज भएका देश, सुरम्य र हराभरा स्वच्छ वातावरण भएको देश । यस्ता उपमाहरुको फेहरिस्ताले नेपाली हनुमा गर्वले शीर सगरमाथा बन्छ । अनि चौडाछाति भएर खुशीले मन पुलकित बन्छ । यति हुँदाहुदै पनि देश अहिले राजनीतिक प्रसव पीडा र तरलताले छट्पटाइरहेको छ ।

सशस्त्र जनयुद्ध विश्राम र १९ दिने दोस्रो जनआन्दोलनको सफल र सुरक्षित अवतरण पश्चात देश अहिले संघीयतामा बामे सर्दैछ । राज्य पुनसंरचना र शासकीय स्वरुप परिवर्तन र परिमार्जन भएसँगै तीन थरीका सरकारको उपस्थिति भइसकेको छ । संघ, प्रदेश र स्थानीय सरकारको नामाकरण र कार्यदिशा तय भइसकेको छ । तर वास्तविकता संघीयताको मूल मर्मलाई ढाकछोप गरी नाम मात्रको संघीयताको मंहगो लेपन लगाइएको छ ।

संघीयतालाई आफू अनूकुलन बनाई परिभाषित र संशोधन गरेर सबै राजनैतिक दलहरुको साङ्गोपाङ्गो रुपमा स्वीकादै माओवादी क्रान्तिको अन्तिम लक्ष्यपरक अवतरणलाई पूँजीवादको घोलमा चोवेर रंगिनता दिनु प्रजातान्त्रिक पक्षघर र ‘रअ’ का अनुयायीहरुको अभिष्ट पुरा गरि दिएका छन् । वास्तविक संघीयताको चुरो भनेको उत्पीडित जनताले चाहेको आत्मनिर्णयको अधिकारसहितको संक्रमणकालीन स्वायत्त राज्यको निमार्ण हो, जहाँ वर्गविहिन, जातीविहिन, समानता र सामाजिक न्यायमा आधारित सम्पूर्ण शोषण उत्पीडन विहिन आर्दश मानव समाजको निमार्ण हुन सकोस् ।

पुँजीवादीहरुको परिस्कृत र संशोधित साथै अनुकुलन हुने भौगोलिक विभाजन, प्रशासनिक सुगमता र मूठीभर व्यक्तिको सत्ता र सामथ्र्यताले मात्र संघीयताको पूर्णता कदापि दिन सक्दैन । यो त मात्र फुटाएर कमजोरी बनाई कमजोरीपनको फाईदा उठाउने बैरीको गलत गिद्धे दृष्टि हो । यसलाई गम्भीर भएर सम्पूर्ण राष्ट्रप्रेमीहरुले निधार खुम्च्याउनुपर्ने जटिल मोड आइसकेको छ । अहिलेको संघीय शासन प्रणाली अवस्था, परिस्थिति, भूगोल, आर्थिक, सामाजिक, शैक्षिक, देश अनुकूल र माटो सुहाउँदो अनि हैसियत अनुसारको छैन, वनी बनाउ, निर्देशित र लादिएको अपाच्य हुने किसिमको छ । यसले निकट भाविष्यमा नै देशलाई धारासायी र दुर्घटनामा पु¥याउन सक्ने आशंका छ ।

पराइको व्यक्तिगत र निहित स्वार्थ सिद्धिको लागि पार्टी ध्रुवीकरण गर्ने, जुटाउने, राष्ट्र टुक्राउने, जनता भड्काउने ‘रअ’ का एजेन्ट र सिमित मतियारहरुको रवैया र हालीमुहाली चरम उत्कर्षमा पुगेको छ । घरको लागि कुलद्रोही विभिषण बनेर आफ्नो आङ् कनाई छारो उडाउने दुष्प्रयास भइरहेको छ । सम्पति, शक्ति र सत्ताको लागि काटमार, रडाको, बन्द, हडताल, तोडफोड र आगजनी जस्ता अमानवीय कर्तुतहरुले प्रसय पाईरहेको छ । विश्वास गुम्दैछ, आशा र भरोशाका कलिला मुनाहरुमा तुषरापात हुँदैछ र सुन्दर भविष्यहरुमा कठोर बज्रपात भइरहेको छ ।

खोई मानवीयता, धर्म, कर्तव्य अनि राष्ट्रप्रेम ? भाइचाराको सम्वन्ध र अनेकतामा एकता जस्ता सदाचारहरुमा खडेरी पर्नुका साथै दया, माया, स्नेह, सहृदयताका आकुराहरु सुकिसकेका छन् । यही थियो त संघीयता र लोकतन्त्रका खातिर वलिदानी कुर्वान गरेका तमाम ज्ञातअज्ञात सहिदहरुको सपना ? अनि संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षित अवतरण र संस्थागत स्थापना ? जातिय युद्ध, धार्मिक युद्ध, साम्प्रदायिकता, भौगोलिक भिडन्त, लिड्डीय विभेद, कसले, किन, कसरी, के को लागि उक्साएको छ, के यसले सबैको कल्याण र उत्थान नै गर्ला ? लोकको कल्याणकारी कार्यको श्रीगणेश सम्भव होला त ? प्रश्नमा सन्देहता छर्लङ्ग छ ।

यहाँ सकुनीको पासाले सोचे अनुसारको दाउ मारिरहेको छ । अनि पाण्डवहरुले वनवासको तयारी गनुपर्ने भयावह स्थिति टङ्कारो रुपमा आउने कुरामा दुईमत नहुन पनि सक्छ । बहुसंख्यक हिन्दुहरु भएको राष्ट्रमा धर्मनिपेक्षता घोषणा गर्नु, सबै धर्महरुको उत्थान तथा कल्याण नभएर धार्मिक साम्प्रदायिकता भड्काएर आफनो स्वार्थको अभिष्ठ पूरा गर्नु मात्र हो । विदेशी धार्मिक उपनीवेशिकताको खियाओरा गर्नु हो ।

कनिका छरेर स्वतन्त्र चरीहरुलाई पिँजडामा कैद गरेर आपसी खिचलो ल्याउने दुष्प्रयास हो । सुझवुझ र अज्ञानताको कारण अनि झिनो मोहमा फस्नु हाम्रो यही नै कमजोरीपनाको लोहकिल हो । जात, धर्म, संस्कार, भूगोल, पेशा, वर्ण, आर्थिक, पार्टीगत, नीतिगत रुपमा मानव सम्वन्धको खिचलो थपेर सम्वन्धलाई पृथकीकरण गरी आफ्नो हवेलीमा भेलागर्ने दुष्कार्य भइरहेको छ । महिला, आदिवासी, जनजाती, दलित, उत्पीडित, सिमान्तकृत, पिछडिएका, लोपोन्मुख र अल्पसंख्यकको पहिचान, आत्मनिर्णय र सशक्तिकरणका नाममा स्वार्थरुपी मन्दविष पिलाईदैछ ।

योग्य, जुझारु, समक्षहरुलाई पाखा लगाएर हतोत्साही बनाउदै विदेशिन वाध्य बनाउने चक्रव्यूहको विजारोपण हँुुदैछ । यसको लागि आरक्षण रुपी मायावी एउटा कुटिल योजनाको झिनो र फितलो योजना मात्र हो । यसले क्षणिक रुपमा कसैलाई ढाडस दिएतापनि दिर्घकालीन सदासहायता कदापि हुन सक्दैन । यसले फुटको बाटो रोज्छ, अनि मेधावी, उम्दा र प्रतिभाशाली जनशक्तिलाई पाखा लगाई सोझोसिधा र निमुखालाई मात्र स्वदेशमा राखी विरोध विहिन र एकलौटी हेपाहा, प्रवृत्ति लादन सहज बनाउने वातारणको सुरूवात गर्छ ।

नेपालमा ‘रअ’ का अघोषित र अदुष्य ठेगदारहरु यस कार्यमा दिलो ज्यानले लागि परेको कुरा निर्विकल्प सत्य हो । वनावटी र नेपालीपनको जलप लगाएका र नुन पचाउन गुन गर्न पल्केकाहरू यसका जीवित प्रमाणहरु हुन् । अखण्ड राष्ट्र टुक्राएर, मतभेद गराएर, साम्प्रदायिकता भड्काएर, नाकाबन्दी गरेर, सीमा मिचेर कमजोर बनाई उपनिवेशिक राष्ट्र बनाउने र विस्तार गर्ने षडयन्त्रको प्रपन्च रचिदैछ । गैर नेपालीहरुलाई नागरिकता बाडेर, जनसंख्या बुद्धि गराएर, रोजगार सेवा सुविधा र अधिकारमा कृतिम अभाव गराएर राज्य फितलो र अस्तव्यस्त बनाई अनुदान, सहयोग र ऋणरुपी कनिका छरी जालमा फसाउने चक्रव्यूहको विजारोपण हँुदैछ ।

आफ्नो स्वार्थ सिद्धिको लागि रगतको सम्वन्ध, भावनाको सम्बन्ध, राष्ट्रप्रेम, राष्ट्रिय भावना र मानवीय सम्वन्ध रुपी पर्खाल जीर्ण हँुदै भत्किदैछन् । सोँच र संवेदनामा खिया, धुलिया र मक्या लागि सकेको छ । रगत प्रदुषित भइसकेको छ । भावनामा रसाउने आंशुका पोखरीहरु मरूभूमि बन्दैछन् ।
वर्तमान विकराल समस्या समाधान असम्भव छ । निच सोच र झिनो स्वार्थमा रूमल्लिएका राष्ट्रप्रेम स्वखलित भावनाहरुले यो हल गर्ने क्षमता राख्दैन्

। इमान्दारिता, कर्तव्य, नैतिकता, निस्वार्थ आज डलरमा सटही भईसकेको छ । थोरै उब्रेको पनि खडेरी परेको वाली अनि किनारा विराएको चैतको नदी झैँ पतासाफ हुँदैछ । आजको यो जटिल मोडमा राष्ट्रप्रेमी तमाम हामी नेपालीहरू एक ढिक्का भएर, सामाजिक र राष्ट्रिय स्वार्थका लागि सत्यनिरुपणको हेक्का राख्दै “नेपाली हामी रहौला कहाँ नेपालै नरहे” भन्ने गीतको भावनलाई अंगिकार गर्दै अघि बढ्नु नितान्त र निर्विकल्प भैसकेको छ । –लेखक खत्री सरस्वती मावि मात्तिम, खोटाङका शिक्षक हुन् ।)