खराब मानसिकतालाई सुधार गर्न आवश्यक

प्रकाशित मिति : बुधवार ३ असोज, २०७५

खोटाङ । खराब मानसिकता र चरित्रलाई सुधार नगरेसम्म पूर्ण रुपमा संविधान कार्यान्वयन सम्भव नहुने खोटाङको दिक्तेलमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् । संविधान दिबसको अवशरमा बुधबार दिक्तेलमा आयोजित कार्यक्रमका वक्ताहरुले हरेक दलका नेता, कार्यकर्ता, प्रशासक, कर्मचारी लगायतले आफ्नो पुरानो र साँघुरो साँचलाई सुधार नगरेसम्म संविधान कार्यान्वयन फलदायी बन्न नसक्ने बताएका हुन् ।

 

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वसभाषद दुर्गाजयन्ती राईले संविधान कार्यान्वयनका लागि खराव चरित्र र मानसिकलाई त्याग्न सक्नु पर्नेमा जोड दिइन् । राज्य र जनता ईमान्दार नवनेसम्म समाजवाद प्राप्त गर्न नसकिने पूर्वसभाषद राईको भनाई थियो । ‘राज्यप्रति, जनताप्रति इमान्दार बनौं, जवाफदेही बन्न सिकौंँ,’ राईले भनिन्, ‘तव मात्र देशले संमृद्धि प्राप्त गर्छ र हामी समाजवादमा पुग्न सक्छौँ ।’ पूर्वसभाषद राईले संविधान दिवस औपचारिकतामा सिमिति हुन पुगेको भन्दै चिन्ता व्यक्त गरिन् ।


जिल्ला न्यायधिस किशोर घिमिरेले संविधान संशोधनीय भएकाले असन्तुष्ट पक्षको माग पनि क्रमशः सम्बोधन हुने बताए । कार्यक्रममा दिक्तेल बहुमखुखी क्याम्पसका प्राध्यापक कृष्णबहादुर राईले संविधानका बिषयमा प्रस्तुत गरेको कार्यपत्रमाथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर विणादेबी राई, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल, नेकपाका नेता सनमान खड्का, दिपक पाण्डे, उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालु लगायतले टिप्पणी गरेका थिए । जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिवसको आयोजना गरेका थिए ।

दिक्तेलको हाटडाँडाबाट सुरु भएको ¥यालीले बजार परिक्रमा गरेपछि जिल्ला समन्वय समितिको सभा हलमा कार्यक्रम गरिएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङको सभापतित्वमा सम्पन्न भएको हो ।

 

संविधान दिवस ससफोद्वारा अस्वीकार

खोटाङमा संघीय समाजबादी फोरमले संविधान दिबसमा सहभागीता जनाउन अस्वीकार गरेको छ । आफ्नो पार्टी वर्तमान सरकारमा समाबेस भएपनि नेपालको संविधानप्रति असहमती, बिरोध र फरक धारणा यथावत रहेको भन्दैै संघीय समाजवादी फोरम जिल्ला कार्य समितिले बुधबारको संविधान दिवस मनाउने कार्यक्रममा सहभागीता जनाउन अस्वीकार गरेको हो । संविधान संशोधन गर्दै संविधानमा भएका कमिकमजोरीलाई सच्याएर प्राप्त अधिकार संरक्षण गर्ने शर्तमा वर्तमान सरकारमा पार्टी समाबेश भए पनि माग सम्वोधन गर्न बाँकी रहेको भन्दै फोरमले बुधबार विज्ञप्ति निकाल्दै संविधान दिबस बिशेष कार्यक्रममा सहभागीता नजनाएको हो ।

शसर्त सरकारमा सहभागी भए पनि हालसम्म संविधान संशोधनको मुद्दा सम्बोधन हुन बाँकी रहेकाले संविधान दिवसमा सहभागीता नजनाइएको संघीय समाजवादी फोरम खोटाङका अध्यक्ष नविन राईले बताए । जिल्ला समन्वय समिति र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्तरुपमा आयोजना गरेको संविधान दिवस कार्यक्रममा वक्ताकारुपमा पार्टीकातर्फबाट संघीय समाजवादी फोरमलाई बोलाइए पनि उसका नेताको अनुपस्थिति रहेको थियो ।

‘वर्तमान परिस्थतिमा संविधान संशोधन र परिमार्जन गर्दै संविधानमा रहेका कमिकमजोरीलाई सच्याउँदै प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी सरकारमा सामेल भएको हो,’ विज्ञप्तिमा भनिएको छ, संविधान संशोधन गर्न सकार सहमत भएको अवस्थामा पार्टीले कालो दिवस मनाउने जस्ता कार्यक्रममा सहभागी हुन कुनै निर्णय नगरेको हुँदा संविधान दिवसमा सहभागी नहुने निर्णय गरिएको हो ।’ पार्टीले संविधान संशोधन नभए आन्दोलनका कार्यक्रम समेत तया गरिने विज्ञप्तिमा जनाएको छ ।

यसैबीच, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङले पनि संविधान दिवसमा सहभागीता जनाएन । विभिन्न चरणमा राज्य र महासंघबीच भएको सम्झौता कार्यन्वयन नभएकाले संविधान दिवस नमनाउने निर्णय गरिएको महासंघले जनाएको छ । सम्झौतालाई बेवास्ता गर्दै जनजातीको भावनामाथि कुठाराघात गरिएको र अधिकारबाट बञ्चित गराउनेगरी वर्तमान संविधान जारी भएकाले दिवसमा सहभागीता नजनाइएको नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका सचिव रविन खम्बूले जनाए ।