अग्नी पीडित प्रसनिलाई राहत

माघ ६ सोमवार, २०७६
खोटाङ । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले अग्नी पीडित प्रहरी सहायक निरिक्षकलाई राहत प्रदान गरेको छ । विद्युत सर्ट हुँदा भएको आगलागीमा दुई तले घर तथा घरमा राखिएका ६ तोला सुन, दुई लाख नगद, अन्नपात, काठपात लगायत जल्दा ४८ लाख बराबरको क्षती बोहोरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ रमितेडाँडाका गोपी कट्वाललाई राहत प्रदान गरेको हो ।
गत पुस २९ गते भएको आगलागीबाट पीडित भएका कट्वाललाई वडाध्यक्ष ललितकुमार राईको हातबाट नगद ७ हजार राहत प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जनाएको छ ।

आगलागीमा कट्वालको घरमा राखिएको ५० मुरी धान, ३० मुरी मकै, २० मुरी कोदो, भाँडावर्तन लगायतका धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । कोष सञ्चालक समितिका अध्यक्ष भोगेन्द्र राई, कोषाध्यक्ष युगसन राई, कोषका खोटेहाङ प्रतिनिधि इन्द्र नारथुंगे लगायतको उपस्थितिमा अग्नी पीडित परिवारलाई राहत प्रदान गरिएको हो ।

अग्नी पीडित प्रहरी सहायक निरिक्षक कट्वाल सामुदायीक सेवा केन्द्र दिक्तेलका ईन्चार्जका रुपमा कार्यरत छन् । नजिकै नयाँ आरसिसि घर बनाएपनि कट्वाल परिवार पुरानै घरमा बस्दै आएका थिए ।