एम्बूलेन्स दुर्घटनाका गम्भीर घाईतेलाई कतारबाट सहयोग

माघ ६ सोमवार, २०७६
खोटाङ । एम्बूलेन्स दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ३५ वर्षीय युवराज आचार्यलाई कतारबाट आर्थिक सहयोग प्राप्त भएको छ । बिरामी आफन्तलाई अस्पताल लैजानेक्रममा गत असोज २ गते राती सप्तरीमा भएको एम्बूलेन्स दुर्घटनामा गम्भीर घाईते भएपछि हालसम्म उपचार गराइरहेका आचार्यलाई खोटाङ सेवा समाज कतारको पहलमा ४० हजार रकम प्राप्त भएको हो ।

कतारबाट पठाइएको रकम आईतबार कांग्रेस नेता एबं समाजसेवी काशीनाथ आचार्यले नेचुरोपेथी अस्पतालमै पुगेर आचार्य परिवारलाई हस्तान्तरण गरेको समाजका अध्यक्ष रुद्र शर्माले बताए ।

सरस्वती माबि दिक्तेलमा कार्यालय सहयोगीको रुपमा कार्यरत आचार्यको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका आफन्त तथा शुभेच्छुकबाट लाखौं रकम सहयोग भइरहेको छ । गम्भीर अवस्थामा रहेका आचार्यको उपचारमा आर्थिक समस्या भएपछि आफन्त तथा छरछिमेकबाट सहयोग जुटिरहेको दाजु झमप्रसाद आचार्यले बताए ।

आफन्तलाई बचाउँनका लागि अस्पताल लैजाँदै गर्दा दुर्घट्नामा परी आफै जीवन–मरणको दोसाँधमा पुगेका युवराजको सहयोगका लागि युवा नेता गोपालचन्द्र आचार्यको संयोजकत्वमा गठित ३५ सदस्यीय आर्थिक संकलन समिति समेत क्रियासिल छ । उपचारकाक्रममा बिराटनगर हुँदै अन्नपूर्ण न्यूरो अस्पताल काठ्माण्डौंमा पु¥याइएका युवराजको बेहोस अवस्थामा रहेको ९९ दिनपछि पुस ११ गते सामान्य होस खुलेको आफन्तले बताएका छन् ।

जिल्ला अस्पताल दिक्तेलले रेफर गरेका आफन्तलाई उपचारका लागि बिराटनगरतर्फ लैजाँदै गर्दा भएको एम्बूलेन्स दुर्घटनामा युवराज आफै गम्भीर घाईते भएका हुन् । रोकेर राखेको ट्रिपरलाई ठक्कर दिँदा एम्बूलेन्स समेत क्षतीग्रस्त बनेको थियो । दुर्घट्नामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका एम्बुलेन्स चालक गोविन्द ढुंगाना पनि घाईते भएका थिए ।

 

अस्पताल जानका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा ज्यान गुमाउनु पर्ने समस्या अन्त्याको प्रयास स्वरुप खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो । त्यसमध्ये निर्मलीडाँडाका लागि उपलव्ध गराईएको एम्बूलेन्स दुर्घट्नामा परेको हो ।