शहरबाट गाउँ फर्किएर बाख्रा पालन

माघ १४ मंगलवार, २०७६
खोटाङ । सेवा सुविधाको खोजीमा शहरमा बसाईसरिसकेका स्थानीय हत्तपत्त गाउँ फर्कदैनन् । तर, बसाई सरिसकेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा कमेरेगाउँका सन्तोष पराजुली र नविन पराजुली तराईबाट गाउँ फर्किएर बाख्रा पालनमा व्यस्त बनेका छन् । शहरबाट गत वर्ष गाउँ फर्किएका काका सन्तोष र भतिज नविन हाल कमेरेगाउँमा बोयर र खरि जातको बाख्रा पालनमा रमाइरहेका छन् । परम्परागत तरिकाले बाख्रा पालन गर्दै आएको पराजुली काका भतिजले दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा पाँच लाख रकम उपलव्ध गराएपछि गत चैतमा पराजुली कृषि तथा बाख्रा फर्म स्थापना गरेर व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरेका हुन् ।

गाउँपालिकाको अनुदानबाट एउटा बोयर जातको बीउ बोका ल्याएर उनीहरुले बोयर जातकै पाठा/पाठी उत्पादन गरिरहेका छन् । हाल उनीहरुको व्यवस्थित खोरमा खरिजातको माउ बाख्रा, खरिजातकै बोका लगायत गरी ७० वटा बाख्रा पालिएका छन् । हाल खोरमै बोयर जातको २० वटाभन्दा बढि पाठा÷पाठी बिक्रीका लागि तयार भएको छ । बोयरका केही पाठा÷पाठी बिक्री गर्न थालिएको सन्तोषले बताए । बोयरको पाठा/पाठी प्रतिकिलो एक हजार पाँच सयका दरले बिक्री भइरहेको पराजुली परिवारले जनाएको छ । विभिन्न ठाउँबाट बोयरको पाठा÷पाठीको माग आउन थालेको छ ।

नविन उदयपुरको गाईघाटमा बसाईसरेको १२/१३ वर्षपछि गाउँ फर्किएका हुन् । बिराटनगर पुष्पलालचोक बस्दैआएका उनका काका सन्तोष पनि ५ वर्षपछि गाउँमा फर्किएका हुन् । त्यसबीचमा नविनले ८/९ वर्ष कतारमा विताए । सन्तोषले पनि ७ वर्ष दुबईमा बिताए । बैदेसिक रोजगारीका सिलसिलामा लामो समय परदेशमा पसिना बगाएका काका भतिज श्रम गरे आफ्नै गाउँमा सम्भावना रहेको निष्कर्षमा पुगेर बाख्रा पालन गर्ने सल्लाह गरेर थाँतथलो फर्किएका हुन् । ‘सबैलाई गाउँमा केही गर्न सकिन्न । विदेश वा शहर नै जानुपर्छ भन्ने धारणा छ । जसका कारण गाउँका खेतीयोग्य जमिन बाँझिइरहेको छ,’ नविनले भने, ‘बाँझिएको जग्गा जमिनलाई सदुपयोग गरेर गाउँमै आम्दानीमुलक काम गरौं भन्ने सल्लाह गरेर तराईबाट गाउँ फर्किएका हौँ ।’

व्यवसायिक बाख्रा पालनका लागि उनीहरुले तीनतिर बरण्डा, भित्र ठूलो हल, बोका र पाठा÷पाठी राख्ने छुट्टाछुट्टै कोठा भएको घरजत्रै व्यवस्थित खोर बनाएका छन् । जमिनबाट करिब चार फिटमाथि बाख्रा बस्ने टाँटीको व्यवस्था मिलाएका छन् । दिनभर बाख्रा बरण्डामा बस्छन्, भने रातका समयमा भित्र ठूलो हलमा राखिन्छ । बोकालाई हलमै पाटेसन गरिएको छुट्टै कोठामा र साना–साना पाठा/पाठीलाई पनि पाटेसन गरिएको छुट्टै कोठामा राख्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकाको ५ लाख सहित १० लाखको लगानीमा सुरु गरिएको बाख्रापालनमा हालसम्म २० देखि २१ लाख खर्च भइसकेको छ ।

‘शहरमाभन्दा गाउँमा सम्भावना छ । गर्दाखेरी गाउँमा नहुने केही छैन,’ नविनले भने, ‘श्रम गरे गाउँमै आयमूलक काम गर्न सकिन्छ भनेर अरु युवालाई पनि शिक्षा दिने हाम्रो जोड हो । जसका कारण बसाई सर्ने दरलाई न्यूनीकरण गर्न सकिन्छ । पुर्खौली जग्गाको उपयोग पनि गर्न सकिन्छ ।’

बाँझिएको जग्गा कजाउन नविन परिवारलाई छाडेर एक्लै गाउँमा आएका छन् । सन्तोष भने श्रीमती सहित गाउँ आएका हुन् । तीन जना कमेरेगाउँमा सँगै बस्छन् । तिनै जना बिहानदेखि बेलुकासम्म बाख्रालाई खोलेपानी दिन, घाँस हाल्न र घाँस काट्नमै व्यस्त रहन्छन् । पराजुली परिवारले सुधारिएको मलखादमा जम्मा गरिएको बाख्राको मललाई तरकारी खेतीमा उपयोग गरिरहेका छन् ।

बाख्राको मल उपयोग गर्न सुन्तला र कागती खेती पनि विस्तार गरेका छन् । उनीहरुले खोरको जमिनमा ढलान गरेर खसीबाख्राको मुत्रलाई पनि संकलन गर्ने र तरकारी खेतीमै उपयोग गर्ने तयारी गरिरहेको बताएका छन् । बाख्रा पालनका लागि उनीहरुले नेपियर, स्टाइलो, सुडान, किम्बु, पटमिरो, एपिल, बकाईनो लगायतका प्रजातीका घाँस खेती पनि लगाएका छन् । बाख्रा पालनलाई व्यवस्थित गर्न थप ५०–६० रोपनी जग्गामा घाँस खेती बिस्तार गर्ने उनीहरुको लक्ष्य छ । घाँस खेतीका लागि सिँचाई पोखरी निर्माणको काम भइरहेको छ ।

गाउँपालिकाकै अनुदानमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सुनगाभा कृषि तथा पशुपालन फर्मले पनि बोयर जातको बाख्रा उत्पादन गरिरहेको छ । बाख्रा पालनमा किसानलाई आत्मनिर्भर बनाउनका लागि अन्य पाँच कृषक समुहलाई पनि बोयर जातको बीउ बोका वितरण गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । गाउँपालिकाले याम्खाको हरियाली कृषक समुह, छोरम्बुको जनजागरण कृषक समुह, बतासेको हरियाली कृषक समुह, सछितापोखरीको तृतियाभञ्ज्याङ कृषक समुह र टेम्माको सकृया सहभागीता कृषक समुहलाई हेटौडाबाट बोयर जातको बोका ल्याएर वितरण गरेको थियो ।