शिक्षकको हाजिरमा नगरपालिकाको निगरानी

शिक्षकको उपस्थितिलाई ट्र्याकिङ गर्दै मेयर दिपनारायण रिजाल ।

प्रकाशित मिति : असोज ४ बिहिवार, २०७५

खोटाङ । असोज १ गते सोमवार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित देखिए । नगरपालिकाबाटै निगरानी हुने गरी जडान गरिएको ई–हाजिरीका माध्यमबाट सो विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजालले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिका वारेमा सोधखोज गरे । तर, विद्यालयका प्रअबाट कोही पनि शिक्षक विदामा नवसेको जवाफ आयो । नामै उल्लेख गरेर तीन शिक्षक अनुपस्थित रहेको देखिएको बताइएपछि भने ‘साँच्चीकै शिक्षक विद्यालयमा नआएको’ पोल खुल्यो । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्नका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनलाईनमार्फत शिक्षकको ई–हाजिरी ट्र्याकिङ सुरु गरेपछि विद्यालयमा शिक्षक आए÷नआएको थाहा पाउन सहज भएको हो ।

सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि नगरपालिकाकाभित्रका १८ माविमा ई–हाजिरी लागु गरिएको हो । असोज १ गतेदेखि नगरपालिकाले इन्टरनेटका माध्यमबाट दिक्तेलबजारस्थित नगर कार्यालयबाटै बसी–बसी १५ वडाका माविमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

 

ई–हाजिरी ट्र्याकिङले ‘कुन विद्यालयका शिक्षक कुन बेला उपस्थित भए, कुनबेला विद्यालयबाट निस्किए’ भन्ने बुझ्न सहज भएको मेयर रिजालले बताए । ‘विद्यालयको ई–हाजिरीलाई अनलाईनबाट मोनिटरिङ गरिन्छ, कुन शिक्षकले कुन समयमा हाजिर गरे भन्ने कुरा यहीबाट हेर्न सकिन्छ,’ मेयर रिजालले भने, ‘ई–हाजिरी ट्र्याकिङबाट निगरानी सुरु गरिएको थाहा भएपनि शिक्षकको उपस्थिति नियमित गर्न सहज भएको छ ।’ विद्यालयमा हुने शिक्षकको ढिलो उपस्थितिका कारण पठन–पाठनमा पर्ने अशर कम गर्नका लागि ई–हाजिरीको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १८ माविमा हाल १८२ शिक्षक/शिक्षीका कार्यरत छन् । भदौ १ गते गरिएको ई–हाजिरी ट्र्याकिङमा नगरपालिकाका १६ शिक्षक विद्यालयमा १० बजेभन्दा ढिला उपस्थित भएकोमा आईतबार ४ शिक्षक मात्र ढिला गरी उपस्थित भएको पाइएको थियो । यस्तै, सोमबार एकजना शिक्षक ३३ मिनेट ढिला गरी विद्यालयमा उपस्थित भएको नगरपालिकाले जनाएको छ ।

 

नगरपालिकाले क्रमशः आधारभूत र प्राथमिक विद्यालयमा पनि अनलाईनमार्फत ई–हाजिरीको व्यवस्था मिलाउने तयारी गरिएको मेयर रिजालले बताए । ‘ई–हाजिरीमार्फत गरिएको निगरानीले शिक्षकको उपस्थितिमा सुधार आएको छ,’ मेयर रिजालले भने, ‘सोमबार एक जना शिक्षक मात्र ढिलो उपस्थित हुनुभएको पाएका छौँ ।’