गायक पोखरेलले दिए रेडियोलाई कम्प्युटर

माघ १८ शनिवार, २०७६
खोटाङ । गायक धर्मराज पोखरेलले खोटाङका सामुदायिक रेडियोलाई एक थान डेक्सटप कम्प्युटर प्रदान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका लोक गायक पोखरेलले आफ्नो जिल्लाका सञ्चारमाध्यमको प्रवद्र्धनका लागि हलेसी एफएमलाई कम्प्युटर प्रदान गरेका हुन् ।

दिक्तेलको होटल भिलेजमा शनिबार एक कार्यक्रम गरी संगीतकर्मी पोखरेलले हलेसी सामुदायिक रेडियोका सञ्चालक समिति अध्यक्ष विष्णु आभूषणलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

निष्पक्ष, स्वतन्त्र र सत्य सूचना सम्प्रेषणका लागि हौसला स्वरुप सञ्चार सामग्री प्रदान गरिएको लोक गायक पोखरेलले बताए । ‘सञ्चार माध्यम सँधै निष्पक्ष हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ,’ गायक पोखरेलले भने, ‘निष्पक्ष मिडियाबाट मात्र परिवर्तन सम्भव हुने भएकाले त्यही हौसलाका लागि सानो सहयोग गरेको हुँ ।’

पोखरेलले यसअघि सोही रेडियोलाई नै एकथान ल्यापटप र रेकर्डर प्रदान गरेका थिए भने समायोजन खबर डटकम र रुपाकोट रेडियोलाई एकएक थान ल्यापटप/रेर्कडर सहयोग गरेका थिए । सम्पादक समाजका अध्यक्ष तथा अग्रज पत्रकार कृष्ण आचार्य र नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दमन राईलाई पनि एकएक थान रेर्कडर प्रदान गरेका थिए । ईन्जिनियर पेशामा आवद्ध पोखरेल समाजसेवा, राजनीति, गायन र मोडलिङमा सक्रिय छन् ।