विद्यालयको शैक्षिक गुणस्तरका कुरा
कृष्णबहादुर बुढाथोकी
फागुन ६ मंगलवार, २०७६
खोटाङ ।
१. पृष्ठभूमि
शिक्षा व्यवहारको लेनदेन हो । यो लेनदेन औपचारिक र अनौपचारिक रुपबाट गरिन्छ । खास गरी औपचारिक भन्दा अनौपचारिक पक्षमा बढी हुने लेनदेन जीवन पर्यन्त चलिरहन्छ । जब बालक कुनै परिवारमा जन्मन्छ विस्तारै उसले त्यस परिवारको भाषा, रहनसहन, सिक्न थाल्छ भने त्यसपछि समाज र सिङ्गो संसारमा उसको ध्यान जान्छ ।
औपचारिक किसिमले पाठशालामा जानुभन्दा अगाडि नै उसले सामाजिक, साँस्कृतिक ,धार्मिक, भाषिक आदि शिक्षा जानेर वा नजानेर लिइरहेको हुन्छ । त्यसकारण बालकको पहिलो पाठशाला परिवारलाई मानिन्छ भने दोस्रो पाठशालाका रुपमा समाज र सामाजिक गतिविधि रहेका हुन्छन् । भनिन्छ नानीहरुको दोस्रो पाठशाला विद्यालय हो तर गहिरिएर विचार गर्दा तेस्रो पाठशालाका रुपमा मात्रै विद्यालयलाई राख्न सकिन्छ ।
जति समयसम्म बालक समाज र परिवारमा रहन्छ त्यसको एकतिहाइ समयसम्म मात्र विद्यालयमा रहन्छ । त्यसैले आचरण, शील, व्यवहार, सकारात्मक धारणाको शिक्षा परिवार र समाजबाट अन्जानमा नै लिईरहेको हुन्छ । घरपरिवार र समाजबाट सुसंस्कार सम्प्रेषण गर्न सकियो भने मात्र औपचारिक शिक्षाको साँचोमा नानीहरुलाई ढाल्न सकिन्छ । अझ बालकलाई सकारात्मक कुराको मात्र जानकारी दिने, र सकारात्मक घटनाको अवलोकन गराउन सके उत्तम हुन्छ । आजको समाजमा सकारात्मक कुरा सिक्न खोज्नु आइसल्यान्डमा सर्प खोज्नु जस्तो भएको छ ।
गुरुकुलको समयमा आफ्ना शिष्यलाई नीति, आचार, शील र व्यवहारका कुराहरु कडा अनुशानमा राखेर सिकाए पनि सबैमा समान सिकाइ गर्न नसकेको तथ्य भेटिन्छ । यसका अलवा हाम्रा जस्ता लोकतान्त्रिक विद्यालयहरुमा विभिन्न पृष्ठभूमिबाट आएका बालबालिकालाई शतप्रतिशत सुधार गर्नु फलामका चिउरा चपाउनु जत्तिकै भएको छ । जन्मजातरुपमै प्रकृतिले मानिसलाई भिन्न क्षमता दिएको हुन्छ ।
त्यसमा पनि केही गुण आमाबाबुको वंशाणुगत रुपमा आएका हुन्छन् भने संस्कार र समाजको अवशेष पनि रहन्छ । यसका अलवा विद्यालयले औपचारिक शिक्षाका माध्यमबाट सकेसम्म व्यावहारिक परिवर्तन गर्न चाहेर पनि सम्भव भएको छैन । यसैले बहिरी आवरणबाट हेर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर शुन्यतिर ओरालो लागेको महसुस गरिएको छ । त्यसको कारक तत्व विद्यालयमा अध्यापन गराउने शिक्षकलाई ठानेर मानमर्दन गर्न खोजिएको छ । “एक्लो वृहस्पति झुटो हुन्छ” भन्ने उक्ति नै अन्तिम सत्य होइन भन्ने लागेर यसको कारण देहायका आधारमा खोज्ने कोशिस गरिएको छ
२. गुणस्तर घट्नुका कारण
कार्य वा घटनाका पछाडि कुनै न कुनै कारण हुन्छन्, कारणबाट नै कार्य हुन्छ । कारणविना कार्य असम्भव भएकाले गुणस्ततर घट्नका विभिन्न कारण छन् । त्यस्ता वास्तविक कारणलाई ढाकछोप गरेर शिक्षा मन्त्रालयदेखि तल्लो तहसम्मका सबै सरोकारवाला सम्झौतामा अल्मलिएका छन् । समस्याको गहिराइमा नपुगी सतहीरुपले एकअर्कामा दोसामोस गरेर पानीमाथिको ओबानो हुन खोजेका छन् । जति बेला (क् भ् भ् )को नतिजा सार्वजनिक हुन्छ त्यसबेला शिक्षा मन्त्रालय शिक्षामा कायापलट ल्याउने हौवा पिट्छ तर करिब १ महिनाको हल्लापछि कुम्भकर्ण झैं निदाएर समय बिताउँछ । शिक्षाको गायत्री मन्त्र जपेर (ल्न्इ,क्ष्ल्न्इ ) चलाएर झोली भर्ने शिक्षाविद्हरु पनि आफ्नै मनचिन्ते फुस्रा गफ चुटेर दुनियाको नजरमा बौद्धिकताको सिंढी चढेका छन । खास चुरो कुरोमा कोही पनि पुग्ने कोशिस गरेका छैनन् । अन्तर मनको गहिराइदेखि नै सबैले सत्य बोल्ने हो, भने हाम्रा शिक्षा नीतिदेखि अन्य थुप्रै कमजोर पक्षहरु छन, जसलाई यहाँ पस्किने जमर्को गरेको छु :
(क) तरल एवं द्वैध शिक्षा नीति
हरेक ऐन नियमहरु समयको मागअनुसार परिवर्तन गरिनु पर्छ, यो अनिवार्य शर्त हो । परिवर्तित समयको मागलाई सम्बोधन गर्न र जनताका आकांक्षा पुरा गर्न ऐन कानुन बदल्न जरुरी भएपनि नेपालमा चाहिं २०२८ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाका पृष्ठपोषणका लागि बनाएको शिक्षा ऐनलाई पवित्र मानेर हालसम्म शिरोधार्य गरिएको छ ।
जनताको बलले देशमा प्रजातन्त्र हुदै राजतन्त्रको पतन गराएर गणतन्त्र आएपछि सबै आफू अनुकुलका ऐन नियम रातारात परिवर्तन गरिए पनि शिक्षा ऐन परिवर्तन गर्ने फुर्सद कसैलाई भएन,यो फुर्सद नहुनाको पछाडि निहित स्वार्थ लुकेको देखिन्छ । जति शिक्षा नीति परिवर्तन गरिए देश र जनताका आवश्यकता पूरा गर्ने भन्दा पनि आफ्ना स्वार्थ पूरा गर्ने उद्देश्यबाट मात्र गरिएका छन् । यसकारण चोर बाटो प्रयोग गरी आफ्नो अनुकुल द्वैध शिक्षा नीति लागू गरिएको छ ।
२०४७ सालदेखि आजसम्म आइपुग्दा नीजि विद्यालय खोल्ने प्रतिष्पर्धा आकासिएको छ । सबभन्दा सजिलो र छिटै मुनाफा कमाउन सकिने उद्योगको रुपमा नीजि विद्यालय देखिएका छन् । धनी र गरिबले पढ्ने विद्यालयको वर्गीकरण गरिदिएको छ । यसै आधारमा टेकेर शैक्षिक माफियाहरुले दिन चारगुणा रात दशगुणा व्यापार वृद्धि गरिरहेका छन् ।
जतिबेला जसलाई मन लाग्यो त्यतिबेला बच्चाको खेलौना झैं शिक्षा नीति परिवर्तन गरिन्छ । यसको प्रत्यक्ष मार गरिब नागरिकमा परेको छ । राज्यको द्वैध नीतिका कारण हँुदाखाने र हुनेखानेका विचको शैक्षिक खाडल बढाएको छ ।
पहुँचवालाका छोराछोरी सुविधा सम्पन्न नीजि स्कुलमा महङ्गो शुल्क तिरेर सुरक्षित अध्ययन गरिरहेका छन् भने गरिबका छोराछोरी दूरदराजका अनकन्टार गाउँका सुविधहीन स्कुलमा असुरक्षित रुपमा अध्ययन गरिरहेका छन् । राज्यको यस व्यवहारले विस्तारै उनीहरुमा शिक्षाप्रति अविश्वास र हीनताबोध पैदा गराएकोले पढाइमा ध्यान कम भएको भन्न सकिन्छ ।
आधुनिक विज्ञान र प्रविधिको पूर्र्ण उपयोग गरी विश्व परिवेशमा घुलमिल हुदै विकसित शहरका निजि विद्यालयमा पढ्ने बालबालिकासँग दूरदराजका गाउमा डोको र नाम्लोसँग मितेरी जोडर मेलापात, घाँस दाउरामा पौंठेजोरी खेल्ने विद्यार्थीको शैक्षिक उन्नति नहुँदा आश्चर्य मान्नु पर्ने देखिंदैन ।
तर दुबैलाई एउटै आँखाले हेरिन्छ,यो महान भुल हो । सामाजको शैक्षिक खाडल कम बनाएर शैक्षक समानता ल्याउने र मौलिक अधिकारको रुपमा शिक्षालाई राख्ने राज्यको सोच छ भने शिक्षा ऐनमा व्यापक परिमार्जन गरेर गाउँ शहर एकै प्रकारको शिक्षा लागू गर्ने आँट गर्नुपर्छ । एकद्वार शिक्षा नीति लागू गरेर समानताको आभास गराउन सक्नुपर्छ ।
(ख) लचिलो परीक्षा प्रणाली
परीक्षा मूल्याङ्कनको निर्विकल्प साधन मानिन्छ । बालकको चौतर्फी क्षमताको माापन केवल परीक्षाबाट गर्न सकिंदैन तापनि सिकाइ उपलब्धिको मापन गर्न परीक्षाको माध्यम उपयोग गरिन्छ । यसमा वैज्ञानिक मापदण्ड प्रयोग हुननसक्दा र विश्वसनीय व्यवस्था गर्न नसक्दा परीक्षा प्रणाली लचिलो देखिन्छ ।
परीक्षा लिने निकाय एउटै नहुनु, शान्ति सुरक्षाको प्रत्याभुति दिन नसक्नु,उत्तरपुस्तिका परीक्षणमा एकरुपता हुननसक्नु आदि यसका कमजोर पक्ष हुन् । विद्यालय तथा विश्वविद्यालयहरुमा आवश्यक पूर्वाधारको अध्ययन नगरी परीक्षा केन्द्रको स्वीकृत दिएको कारण पनि परीक्षा प्रणाली फितलो भएको हो । धाक धम्की र स्थानीय दादागिरीका आधारमा अधिकारीहरु परीक्षा चलाउन बाध्य हुन्छन् । यो अव्यक्त सत्य हो ।
राज्यले विकेन्द्रीकरणको नीतिअनुसार २०४६ साल पछि सस्तो लोकप्रियताका लागि परीक्षाकेन्द्र स्थानीय स्तरसम्म विस्तार गरियो । यो सर्वसाधारण जनताका सुविधाका लागि लक्षित भएपनि यसको आवश्यक व्यवस्था मिलाउन नसक्दा नाजायज फाइदा बाठाटाठाले लिए, कसैको गरिखाने भाँडो भयो । विहारी शैलीमा शिक्षाको अवस्था ओर्लियो ।
परीक्षाप्रति जनविश्वास घट्दै गयो, घोकेरभन्दा बोकेर पास गर्नुपर्छ भन्ने मानसिकताको विकास भयो । विद्यार्थीमा पढ्ने बानीको विकास हुनसकेन, पढे पनि पास नपढे पनि पास भन्ने धारणाको विकास भयो शिक्षकमा पनि पढाउनुपर्छ भन्ने विवेक रहेन किनकि पढाए पनि पास नउढाए पनि पास भएका छन् ।
केही समय सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत संख्यात्क रुपमा ह्वात्तै बढेर गए पनि गुणात्मक वृद्धि भएन । परीक्षा नीति लचिलो हुनाले माफियाहरुलाई कार्वाही हुन सकेन । पढ्नु आफैंमा जटिल कार्य हो, त्यसमा पनि फितलो परीक्षा नीति र शैक्षिक अराजकताका कारण विद्यार्थीमा पढ्ने बानी हटेर गएकाले गुणस्तर घटेको तथ्य नकार्न मिल्दैन ।
(ग) राजनैतिक हस्तक्षेप
मानव विकासको मेरुदण्ड शिक्षा हो, राजनीति समाज विकासको आधार स्तम्भ हो । सभ्य मुलुकमा विकासका लागि राजनीति गरिन्छ । शैक्षिक विकास राजनीतिबाट टाढा राखिन्छ । हाम्रोे मुलुकमा सबैभन्दा बढी राजनीति शिक्षामा हुन्छ । यसो हुनु दुर्भाग्य हो तथापि राजनीति भाइरस झैं पस्दैछ , पसि रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर घटाउने यो प्रमुख कारण हो भन्दा फरक नहोला ।
सामुदायिक विद्यालय तथा विश्वविद्यालमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरुको पेशागत हितका नाममा संगठन खोलिएका छन्, यो सान्दर्भिक हो । यसले पेशामा हुनसक्ने अन्यायको अन्त गरी पेशाको सुनिश्चितता गर्नुपर्छ तर नेपालमा यस्ता सङ्गठनहरु पेशागत कार्यमा भन्दा राजनीतिमा सक्रिय देखिन्छन् ।
आफ्नो कर्तव्यमा भन्दा राजनैतिक दलको भातृसङ्गठनका एजेन्ट तथा मुखपात्रका रुपमा काम गर्र्र्न रुचाएको देखिन्छ । विशेष गरी सामुदायिक विद्यलयमा यो व्यथा क्रोनिक बन्दै गएको छ । कतिपय पहुँचवाला शिक्षकले राजनीतिक दलको आडमा जागिर खाएका छन् ठेक्कापट्टा व्यापार व्यवसाय गर्ने, अनेक बहाना बनाएर राजधानी बस्ने,अध्ययन अध्यापनको समय पार्टी काममा खर्चने प्रवृत्तिले बढवा पाउदै जानाले शिक्षक र विद्यार्र्थी निसङ्कोच दलीय गोष्ठी, सेमिनार, सभामा व्यस्त हुनथालेका छन् ।
सबैले कर्तव्यलाई बिर्सिएर अधिकारमात्र खोज्ने बानीले स्वार्र्थी प्रवृत्ति बढाएको छ, चप्लुसी र चाकडी गर्ने बानीको विकास गराएको छ । अनुभव र योग्यतालाइै भन्दा आफ्ना कार्यकतार्, भाइ बहिनी, सालासाली, नातागोतालाई विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले राज गरेको छ । स्वार्थसिद्धिका लागि विद्यालयमा तालाबन्दी गर्ने शिक्षक कर्मचारीमाथि हातपात गर्ने आफ्नो दल इतरका शिक्षकलाई मानसिक यातना दिने जस्ता कार्य सामन्य भएका छन् ।
सरकारमा पुगेका दल र तिनीहरुका कार्यकर्ताको राजनीतिक अभ्यास गर्ने थलोको रुपमा समुदायिक विद्यालय रहुन्जेल गुणस्तर लोक कथामात्र हुन्छ । राजनीतिको हस्तक्षेपबाट उत्पन्न यस बानीले शैक्षिक गुणस्तर घटाउन जोडदार मलजल गरेको छ । सच्चा मनले शिक्षामा सुधार ल्याउने हो भने विद्यालयमा हुने राजनैतिक हस्तक्षेप बन्द गरी कर्तव्यको पालना गर्ने हिम्मत गर्नुपर्छ । हाम्रो मान्छे होइन राम्रो मान्छेलाई प्रोत्साहन गर्नु पर्र्दछ ।
(घ) न्यून पारिश्रमिक र बढ्दो शैक्षिक बेरोजगारी
सरकारी विद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने उद्योग भएका छन् । वर्षेनी लाखौंको सङ्ख्यामा शैक्षिक बेरोजगारको सङ्ख्या थपिएको छ । राज्यले रोजगारमूलक प्राविधिक शिक्षाको अवसर सबै नागरिकलाई दिएको छैन । क्षमता नभए पनि पैसा हुनेका लागि प्राविधिक शिक्षा लिने व्यवस्था मिलाएको छ भने क्षमता भएर पनि पैसा नहुनेले त्यस्तो अवसर पाएका छैनन् । धनहीन भएकै कारण साधारण विद्यालयमा पढ्न बाध्य हुनु परेका छ ।
शिक्षा जस्तो अत्यावश्यक क्षेत्रमा पैसाको पर्खाल खडा गर्नु दुर्भाग्य हो । यही अकर्मण्यताका कारण निर्माण, यातायात, सञ्चार, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत मानवीय आवश्यकताका क्षेत्रमा दक्ष मानव साधनको अभाव खड्किएको छ । नाम मात्रको शिक्षाको जालो फैलाएर सर्वसाधारणलाई रणभुलमा पारिएको छ । संसारकै सस्तो मजदुर बनाएको छ । यसकै फाइदा उठएर देशभित्र नै नीजि स्कूलहरुले न्यून पारिश्रमिकमा शैक्षिक श्रम शोषण गरिरहका छन् । जहाँ श्रम बढी र मूल्य कम भएपनि काम गर्न विवश छन् शिक्षित मानिसहरु ।
नेपालको संविधान २०७२ ले व्यवस्था गरेका ३१ वटा मौलिक हकमध्ये शिक्षालाई धारा ३१ मा लिपिबद्ध गरेपनि राज्यले कार्यान्वयानमा चासो राखेको छैन । कर्मचारी र शिक्षकको सेवा सुविधामा सागर र सगरको अन्तर खडा गरेको छ । त्यसमा पनि जीवनयापन गर्न पुग्ने पारिश्रमिकको व्यवस्था गर्न कन्जुस्याईं गरेको छ । यसबाट असन्तुष्ट भएपछि सरकारी जागिरबाट पलायन हुनेको सङ्ख्या बढिरहेको छ भने विदेश मोहले सगरममाथाको टाकुरो नाघेको छ ।
वर्षौंसम्म कठोर परिश्रम र अनिश्चित आर्थिक लगानी गरेर आएका शिक्षक कर्मचारीको भन्दा म्यानपावर कम्पनीलाई उचित रकम तिरेर खाडी मुलुक जाने कामदारले लाखौं रुपंैया कमाएर असीम आर्थिक प्रगति गरेको दृष्यले पनि शिक्षाप्रति वितृष्णा उत्पन्न गरेको यथार्थ नकार्न मिल्दैन । यी सबै अवस्थालाई मध्येनजर गरेका अभिभावकले आफ्ना छोराछोरीलाई पढाइतिर भन्दा ऋण काढेर भएपनि खाडी मुलुकमा पठाउन राजी हुन्छन् । यसलाई न्यूनीकरण गर्न नसकेमा शिक्षाप्रतिको धारणा अझै नकारात्मक हुने कुरामा दुई मत छैन । वैदेशिक रोजगारका लागि न्यूनतम मापदण्ड किटान गर्नसके सबैको ध्यान शिक्षामा जाने थियो कि ?
(ङ) गरिबी र देखासिकी
शिक्षाको गुणस्तर घटाउन गरिबी र देखासिकीले पनि प्रभाव पारेको छ । ग्रामीण क्षेत्रमा बस्ने मानिस कृषिमा निर्भर हुनाले आर्थिक अवस्था पातलो हुन्छ । त्यसैले उनीहरु छोराछोरीलाई सरकारी स्कुलमा पढाउन विवश हुन्छन् । छोराछोरीको भविष्यको चिन्ता भएपनि बिहान बेलुकाको छाक टार्ने, मेलापात गर्नुपर्ने बाध्ययता उनीहरुमा छ । बिहानदेखि साँझसम्म कठिन श्रम गर्नुपर्ने भएकाले निरन्तर विद्यालय जान विद्यार्थीलाई समय मिल्दैन भने पठनपाठनको विषयमा सोच्ने फुर्सद अभिभावकलाई हुँदैन, यो ध्रुवसत्य कुरा हो ।
गाउँमा बस्ने मानिसको पहिलो आवश्यकता गरिबीसँग जुझ्नु हो भने बाँचेको समय मनोरञ्जनतिर लगाउन थालेकाले पनि पढ्ने समयको बचत हँुदैन । सहर बजारका केटाकेटीको अधिकांश समय पढाइतिर लगाएर बाँकी समय मनोरञ्जनमा लगाउँछन् । त्यसको अनुशरण गाउँका दूरदराजमा बस्ने अभिभावक र बालबालिकाले पनि गर्न थालेका छन् । यो प्रगतिको खुड्किलो भएपनि समय व्यवस्थापनका हिसावले शिक्षामा नकारात्मक असर पु¥याएको कुरामा दुई मत छैन ।
गरिबीका कारण पेटको समस्या पहाड बनेको हुनाले खेतीपाती गर्ने मुख्य खेतालो छोराछोरीलाई बनाउने चलनले पनि पढाइमा बाधा पैदा गरेको छ । आजको युग आर्थिक युग हो । शिक्षा आर्जन भन्दा अर्थोपार्जनमा सबैको ध्यान जानु स्वाभाविक हो । हरेक मानिस बढी धन कमाएर अरु जस्तै सम्पन्नशाली जीवनयापन गर्न छिमेकीले जुन माध्यमले धन आर्जन गरेको छ, त्यही उपायको अवलम्वन गर्न चाहन्छ र आफ्ना भावी सन्तानलाई समेत त्यही बाटो लाग्न प्रेरित गर्दछ ।
उच्च शिक्षा हासिल गर्नेहरु समेत सस्तो नोकरको रुपमा विदेश जानुपर्ने बाध्यता तथा विदेश गएकाले प्रशस्त सम्पत्ति कमाएका परिदृष्यले “पढ्यो गुन्यो के काम, हलो जोत्यो माम” भन्ने पुरानो नेपाली उखान समेत परिवर्तन गराएर “पढ्यो गुन्यो छैन काम, विदेश गए दाम” तर्फ मोडिएको छ । यसैले पढे पनि विदेश नपढे पनि विदेश भन्ने मानसिकताले गर्दा उमेर नपुगुञ्जेल स्कुल त्यसपछि विदेश जाने सुर सबै बालबालिकामा भरिएकोले पढाइको गुणस्तर ओरालो लागेको कुरा असत्य होइन । यस्तो देखासिकी रहुञ्जेल गुणस्तर ओरालो लाग्ने कुरामा निधार खुम्च्याइरहनु पर्दैन ।
(च) प्रविधिको दुरुपयोग तथा दास मानसिकता
मानिसको सुविधाका लागि विज्ञानका अविष्कार वरदान भएका छन् । विभिन्न आविष्कारले मानवीय क्षमता अभिववृद्धि गर्न मद्दत गरेको छ । कुनै सानो कोठामा बसेर विश्व परिवेशलाई प्रत्यक्ष रुपमा अध्ययन अवलोकन गरेर जीवन र जगतलाई बुझ्न तथा व्यवहारमा परिवर्तन हुन सहयोग गरेको छ ।
जुुन उद्देश्यले प्रविधिको विकास भएको हा,े हामीले सो अनुसार प्रयोगमा ध्यान दिन नसक्दा यो प्रविधि अहिले विद्यार्थीका लागि अभिशाप भएको छ । इमेल, इन्टरनेट, फोन, फ््याक्स आदि प्रविधि मार्फत् विश्व परिवेश बुझ्न सकिने सुविधा भएपनि (त्भभल बनभ) आजका युवायुवतीहरुले यसको दुरुपयोग गरिरहेका छन् । हिजोआज बढ्दो इन्टरनेटको प्रयोगले गाउँमा झनै भयावह अवस्था पैदा गरेको छ । अभिभावकले विद्यार्थीका लागि महङ्गा मोबाइल फोन दिने र त्यस्ता फोनमा इन्टरनेटमार्फत् विभिन्न दृष्यहरु डाउनलोड गर्ने र त्यही दृष्य हेरेर समय व्यतित गर्ने प्रवृत्तिले पढाइप्रतिको लगाव घटाएकोले गुणस्तरमा ह्रास आएको सत्यता स्वीकार्नु पर्दछ ।
टेलिभिजनमा प्रसारित हिन्दी सिरियलको जासुसीको जालो लगायतका कार्यक्रमलाई उल्टो बुझिदिनाले अपराधिक कार्यमा वृद्धि भएको नकार्न मिल्दैन । इन्टरनेटमा आउने कतिपय यौन भिडियोहरुले यौन उत्तेजनामा वृद्धि गरेको हुनाले समाजमा बालविवाह र यौन दुव्र्यवहारको मात्रा बढाएको छ । यसले हाडनाता करणी, अबोध बालिका करणी लगायत जबर्जस्ती करणीका घटना बढाएको छ । मोबाइल फोनको बढ्दो प्रयोगले विद्यार्थीहरुलाई समेत प्रभाव पारेको छ भने पढाइमा लगाउने समय बर्बाद गर्न सघाएको छ । लुकी लुकी अश्लिल फिल्म हेर्ने, जासुसी हिन्दी सिरियल हेर्ने र त्यसको गलत प्रयोगमा तल्लिन हुनाले पनि शैक्षिक गुणस्तर ओरालो लागेको ठम्याइ छ ,यो ठहर गलत नहुन सक्छ ।
प्रविधिको दुरुपयोग पछि हाम्रो दास मानसिकता पनि हामीलाई पछाडि पार्न कारक बनेको छ । आफू आत्मनिर्भर हुन आफ्नै देशका स्रोत सााधन उपयोग गर्ने भन्दा अर्काको देश्मा कुल्ली, दरवान, भरिया, कान्छा, बहादुर जस्ता भाडाका सिपाही हुन खुशी हुन्छौं । नेपालकै कतिपय ठाउँमा लाहुरे हुने होड चल्छ भने धेरैको मानसिकता अमेरिका, जापान र कोरिया जस्ता देशमा तानिएको छ । नेपालमा पढेर जागीर खानुभन्दा ती देशममा कृषि तथा औद्योगिक मजदुर हुन रुचाउँछौं । आफ्ना घरमा खाएको थाल पखाल्न लाज मान्ने हामी ती ठाउँमा जोखिमपूर्ण९म्भलनभचयगक, म्ष्चतथ, म्भााष्अगतिथ० काम गरेर पैसामा इज्जत साट्न मञ्जुर हुन्छौं । सकेसम्म १३ वर्षको बालकलाई १८ वर्ष पूरा गरेको कागजपत्र बनाएर खाडी मुलुकमा भाडाको सिपाही बनाउन राजी हुने दास मनोवृत्तिले पढाइतिर भन्दा विदेशतिरको मोह बढाउनाले पनि गुणस्तरमा बाधा पु¥याएको कुरामा दुई मत छैन ।
(छ) शैक्षिक योग्यता र दक्षताको कदर गर्न नसक्नु
कष्टप्रद परिश्रम, विपुल समय र सम्पत्ति खर्च गरेर प्राप्त गरेको विद्वताको उपेक्षा गरी मूर्खहरुको दबदबा खुलेअलाम चलेको र विद्वानलाई मूर्खले शासन गर्ने चलन नेपालमा छ । यस कारण शैक्षिक योग्यताको कदर नभएको प्रष्ट छ । राजनैतिक अकर्मण्यताले गर्दा रोजगारको लागि योग्यताभन्दा भनसुन र लविङले महत्व पाउनु, क्षमताको प्रयोग गरी काम गर्न नपाउनु, स्वतन्त्र भएर बाँच्न नपाइने कसैको गुलाम गर्न बाध्यहुनुपर्ने संस्कार छ । भनसुन र लविङले प्रोत्साहन पाउँदा दक्ष नागरिक पलायन हुनुपरेको छ ।
गाउँबाट सहर र सहरबाट विदेशतिर शिक्षित र दक्ष नागरिक पलायन भएको घटनाले पछिल्लो पुस्तामा समेत निराशा छाएको छ । फलानाले पढेर पनि विदेश जानु प¥यो, हामीले किन पढ्ने ? भन्ने सोचले अड्डा जमाएको छ । त्यसैले आजका नवयुवामा पढ्नुपर्छ भन्ने मनोबल घटेकाले विद्यालय शिक्षाको गुणस्तरमा ह्रास आएको हुनसक्छ । राज्यका सञ्चालकहरुले शैक्षिक बेरोजगारी घटाएर योग्य व्यक्तिको कदर गरी सबैमा विश्वास जगाउन सके गुणस्तर वृद्धि हुने कुरामा शङ्का छैन ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्नका अन्य थुप्रै कारण छन् तापनि मेरो विचारमा मुख्य कारक तत्व यिनै हुन् भनी औंल्याएको छु । यी बाहेकका गम्भिर कारण पनि नभएका होइनन् अब तिनीहरुको गहन अध्ययन गरी सुधारतर्फ नसोचे भयावह अवस्था नआउला भन्न सकिंदैन । राष्ट्रिय भावनाको जागरण गराएर देशभित्रै स्वरोजगारको अवसर दिने पाठ््यक्रमको व्यवस्था गरी दक्ष एवम् शिक्षित नागरिक पलायन हुनबाट रोक्ने उपाय दिन नसके यहाँको जमिन बाँझो हुन धेरै समय लाग्दैन । जन्ती र मलामी भाडामा खोज्नुपर्ने दिन आउन बेर छैन । स्कुल कलेज बन्द भएर यो मुलुक बुढा र बालक बस्ने बृद्धाश्रम र बालगृहका रुपमा परिणत नहोला भन्न सकिंदैन ।
देश विदेशी सामान विक्रि गर्ने बजार तथा पीडितहरुको राहत वितरण स्थलजस्तो हुनसक्ने प्रबल सम्भावना छ । शैक्षिक गुणस्तरका बारेमा एक अर्कामा आरोप प्रत्यारोप गर्नु भन्दा सबै सरोकारवाला विद्यार्थी, शिक्षक, अभिभावक, र सम्बन्धित पक्षले गम्भिर हुनुपर्छ । कलम घिसारेर हल्ला चलाउने शिक्षाविद्हरुले समेत कपोलकल्पित कुरा गर्न छोडेर वास्तविकतातिर नियाल्न अपरिहार्य देखिन्छ । भोटको राजनीति गर्नेहरुले नागरिक पलायन रोक्न स्वदेशमा रोजगारीको वातावरण नबनाउने हो भने यो देशमा नेतामात्र रहन बेर छैन ।
जनताविनाका नेता शिरविनाको धड (मुर्कट्टा) जस्तो हुन समय पर्खनु पर्दैन । चक, डस्टर हल्लाएर बिहान बेलुकाको गर्जाे टार्ने शिक्षकले पनि विद्यालय बन्द भएपछि फुलेको केश कन्याउँदै रित्तो स्कुलमा लामखट्टे धपाउन रहर गर्नु पर्दैन । अब कुरा गरेर समय बिताउनु भन्दा काम गरेर देखाउने समय आएको छ । सबैले आफ्नो दायित्व र कर्तव्यलाई ख्याल गरी समयमा चेत नखोजे इतिहासले कलङ्कको अविर दल्न सङ्कोच मान्दैन । सबैलाई चिन्ता र चेतना भए समयको पावबन्दीलाई बुझ्न जरुरी छ ।
।।ईति।। (खोटाङ, हाल काठमाडौ ।)
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



