प्रथम दिक्तेल महोत्सव भित्रियो कम, बाहिरियो बढि

फागुन १२ सोमवार, २०७६
खोटाङ । दिक्तेल महोत्सवबाट स्थानीय उत्पादन र व्यवसायीको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने प्रचार गरिएको थियो । तर, महोत्सवमा राखिएका १२० स्टल र सहभागी व्यवसायी हेर्दा जिल्ला बाहिरका व्यवसायी हावी देखिएको स्थानीयको गुनासो छ । महोत्सवमा अधिकांश व्यवसायी बाहिरका ल्याइएकाले रकम भित्र्याउनुको सट्टा बाहिरिएको छ ।

 

पर्यटन, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, वन पैदावार, जडिबुटी बजारीकरण तथा पर्यटन प्रवद्र्धनमा टेवा पुयाउने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा स्थानीय व्यवसायी र उद्यमीको सहभागीता न्यून रहेको गुनासो छ । महोत्सवमा आधुनिक कृषि औजार, कृषि प्रदर्शनी, चार पांग्रे गाडी, सूचना प्रविधि, वित्तिय संस्था, बेकरी, कपडा, खेलौना, पर्यटन, होटल, हस्तकला, कार्पेटिङ डेकोरेसन लगायतको स्टल राखिएको थियो ।

प्रचार गरिएजस्तो सूचना प्रविधि प्रदर्शनी, कृषिजन्य वस्तुको प्रतियोगितात्मक प्रदर्शनी, हस्तकला प्रदर्शनी, जातीय खानाका मौलिक परिकारको बिक्री तथा प्रदर्शनी राखिएनन् । महोत्सवबाट बाह्य व्यवसायीले मात्र फाईदा लिएको होटल भिलेजका सञ्चालक निसान राईले बताए । महोत्सवको अवधिमा चर्चित गायक राजेश पायल राई, बद्री पंगेनी, ज्योती मगर लगायतका कलाकारले सांगीतिक प्रस्तुती गरेका थिए ।

आसन ग्रहणमै भद्रगोल

महोत्सव उद्घाटनकाक्रममा अतिथिको आसन–ग्रहणमै वरियाता नमिलाउँदा आयोजकको आलोचना भयो । महोत्सव उद्घाटनकाक्रममा जिल्ला समन्वय समितिका प्रमुख ववि चाम्लिङ, नेकपाका सचिव राम दंगाल, कांग्रेस सभापति नरेश श्रेष्ठ र समाजवादीका अध्यक्ष टंक थापा उठेर हिँडेका थिए ।

यद्यपि, मूख्यमन्त्री राईले बोल्नेबेला जिसस प्रमुख चाम्लिङ र नेकपाका सचिव दंगाल मञ्चमा फर्किएका थिए । समापन कार्यक्रममा कांग्रेस र समाजवादीका नेता उपस्थित देखिएनन् । महोत्सव उद्घाटनमा देखिएका प्रतिनिधिसभा सदस्य, प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख समापन कार्यक्रममा अनुपस्थित भएका थिए ।