पर्यटन प्रवद्र्धनका लागि  बहानेपोखरी महोत्सव सुरु

फागुन १४ बुधवार, २०७६
खोटाङ । पर्यटन प्रवद्र्धनका लागि खोटाङको ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा बहानेपोखरी महोत्सव सुरु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा रहेको रमणीयस्थल बहानेपोखरीको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको पाँच दिने महोत्सव मंगलबार सुरु भएको हो । फागुन १७ गतेसम्म सञ्चालन हुने महोत्सव प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

पाँच दिने महोत्सवमा अर्गानिक कृषि उपज प्रदर्शनी, स्थानीय खानाका परिकार, विभिन्न जातजातीको साँस्कृतिक झाँकी, साँस्कृतिक कार्यक्रम, खेलकुद लगायतका कार्यक्रम हुने ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले बताए ।

महोत्सवको स्टलका कारण बहानेपोखरी सजिसजाउ बनेको छ । महोत्सवका दौरान सहभागीलाई महोत्सवमा बाहाने पोखरी अवलोकन, शङ्खे ढुङ्गा, नाग ढुंगा, स्तुपा, हरियाली जंगल, हिमाली तथा मनोरम दृश्यावलोकन, चौंरी तथा याकको अवलोकन, लालीगुराँस तथा चिमाल फुलको दृश्यावलोकन, घ्याङखर्क–साल्पापोखरी र सिलिचुङसम्मको पदयात्रा गराइने महोत्सव आयोजक समितिका संयोजक गृहबहादुर राईले बताए । सोही अवशरमा खुल्ला वडास्तरीय महिला÷पुरुष भलिवल, मिनि म्याराथन, खुल्ला पुरुष डबल ब्याटमिन्टन, खुल्ला लोकदोहोरी, खुल्ला बुद्धिचाल लगायतका प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

अग्लो डाँडामा रहेको तथा बाह्रैमास पानी भरिने र कहिल्यै नसुक्ने दुई सय मिटर क्षेत्रफलमा फैलिएको बहानेपोखरी घुमफिर गर्न र दृश्यावलोकनका लागि चर्चित छ । पर्यटनको सम्भावना रहेपनि हालसम्म ओझेलमा रहेको बहानेपोखरीबाट जिल्लाका अधिकांश स्थान, छिमेकी जिल्लादेखि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

पूर्वतर्फ शंख ढुंगा, नाग ढुंगा, स्तुपा र सोभन्दा केही माथि विविध आकृतिका संरचना रहेको बहानेपोखरीमा जनै पूर्णिमा र मंसिर पूर्णिमाकाबेला धामी झाँक्री सहितका दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गरेको छ ।

बहानेपोखरीका आसपासमा चौरी गाई र भेडा पालन र चरण भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षक गर्न सकिने दावी गरिएको छ । ओझेलमा रहेको बहानेपोखरीमा नयाँ वर्ष लगायतका अवशरमा स्थानीयको बाक्लो भीड लाग्ने गरेको छ ।

गाउँपालिकामा सार्वजनिक बिदा

बहानेपोखरी महोत्सवका लागि ऐसेलुखर्क गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । मंगलबारदेखि सुरु महोत्सवका लागि गाउँपालिकाले एक दिन सार्वजनिक बिदा दिएको हो ।

बहानेपोखरी महोत्सवको सफलता र सहभागीताका लागि महोत्सव उद्घाटनको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष निरौलाले बताए । महोत्सवमा जानका लागि गाउँपालिकाबासीलाई आग्रह गरिएको आयोजकले जनाएको छ ।