भगवती स्पोर्टस क्लवलाई १ का विरुद्ध ३ गोल अन्तरले हराउँदै खारम्बुको बिजयी सुरुवात

फागुन २२ बिहीवार, २०७६
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकामा सुरु बाक्सिला गोल्डकपको ११ औं संस्करणमा खारम्बु स्पोर्टस क्लवले विजयी सुरुवात गरेको छ । जिल्लाकै सर्वाधिक राशीको गोल्ड कपको उद्घाटन खेलमा पेनाल्टी सुटआउटमा खोटाङ भगवती स्पोर्टस क्लवलाई १ का विरुद्ध ३ गोल अन्तरले हराउँदै खारम्बुले विजयी सुरुवात गरेको हो ।

निर्धारित समयमा १/१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । गत वर्ष सञ्चालित १० औं संस्करणको विजेता बनेको खारम्बु स्पोर्टस क्लव र उपविजेता खोटाङ भगवती स्पोर्टस क्लवबीचमै पहिलो खेल भएको थियो । खारम्बु स्पोर्टस क्लवका गोलकिपर उपेन्द्र राई प्रतियोगीताका म्यानअफद म्याच भएका छन् ।

मोफसलमा फूटवलको व्यवसायिक विकासका लागि विगत १५ वर्ष अघि सुरु गरिएको ‘११ औं केपीलासगढी वाक्सिला रनिङ गोल्डकप’ विहिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् । पृथ्वी मावि वाक्सिलाको खेल मैदानमा आगामी फागुन २६ गतेसम्म जारी रहने वाक्सिला गोल्डकपको ११ औं संस्करणका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने आयोजक वाक्सिला फूटवल क्लवका अध्यक्ष शिवकुमार राईले बताए ।

फुटबलको व्यवसायीक विकासको लक्ष्य लिएर २०६२ सालमा स्थापित वाक्सिला फूटवल क्लवको आयोजनामा २०६१ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगीताका बेष्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने जनाइएको छ । जिल्लामा फूटबल खेलको व्यवसायिक विकास तथा फूटबल खेलाडीको प्रोत्साहन र प्रवद्र्धनका लागि ‘वाक्सिला गोल्डकप’लाई निरन्तरता दिइएको क्लवका अध्यक्ष राईले बताए ।

प्रतियोगीतामा खारम्बु स्पोर्टस क्लव, वाक्सिला फूटबल क्लव, सोल्मा स्पोर्टस क्लव, नेर्पा स्पोर्टस क्लव, हलेसी तुवाचुङ स्पोर्टस क्लव, जन्तेढुंगा स्पोर्टस क्लव, खोटाङ भगवती स्पोर्टस क्लव र हलेसी खेलकूद विकास समितिको सहभागीता रहेको छ । गोल्ड कपका लागि केपीलासगढी गाउँपालिकाले ५ लाख आर्थिक सहयोग गरेपछि क्लवले प्रतियोगीताको नाम ‘११ औं केपीलासगढी वाक्सिला रनिङ गोल्डकप’ राख्ने निर्णय गरेको छ ।
गोल्डकप उद्घाटनमा प्रदेशसभा सांसद राजन राई, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्ण राई, उपाध्यक्ष हिरादेवी वन लगायतको उपस्थिति रहेको थियो ।