बाक्सिला गोल्डकपमा आयोजक च्याम्पीयन

फागुन २५ आइतवार, २०७६
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिकामा आयोजित ‘११ औं केपीलासगढी बाक्सिला रनिङ गोल्डकप’मा आयोजक च्याम्पीयन बनेको छ । आईतबार सम्पन्न फाईनल खेलमा सोल्मा स्पोर्टस् क्लवलाई पछि पार्दै आयोजक बाक्सिला फूटबल क्लव विजेता बनेको हो ।

 

पृथ्वी मावि बाक्सिलाको खेलमैदानमा आयोजना गरिएको खेलमा ० का विरुद्ध २ गोल गर्दै आयोजक च्याम्पीयन बनेको हो । खेलको पहिलो हाफको ३७ औं मिनेटमा जर्सी नम्बर ११ का सुसन तामाङले गोल गर्दै बाक्सिला फूटबल क्लवका लागि खाता खोलेका थिए । यस्तै, मध्यन्तरपछि जर्सी नम्बर ८ का सौरभ कार्कीले एक गोल थपेर टिमलाई अग्रता दिलाएका थिए । पराजित भएसँगै सोल्मा स्पोर्टस् क्लव उपविजेता बनेको छ ।

बाक्सिला रनिङ गोल्डकपका विजेताले २ लाख ११ रुपैयाँ, उपविजेताले ९९ हजार ९११ रुपैयाँ र सेमिफाईनलिस्टले २० हजार ११ रुपैयाँ पाउने छन् । प्रतियोगीताका बेष्ट प्लेयर र सर्वा्धिक गोलकर्तालाई जनही ११ हजार १११, बेष्ट गोलकिपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर र बेष्ट कोचलाई जनही ५ हजार ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पुरस्कार केही समयपछि प्रदेशसभा सांसद राजन राईले गर्ने कार्यक्रम छ ।