दिप्रुङमा भएको सर्वाधिक राशीको खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता सम्पन्न

फागुन २७ मंगलवार, २०७६
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक राशीको खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीता मंगलवार सम्पन्न भएको छ । जसमा पुरुषतर्फको प्रथम उपाधि उदयपुर स्पोर्ट्स क्लव गाइघाटले चुमेको छ ।

 

‘हामी दिप्रुङ चुइचुम्माली, ल्याउँछौ समृद्धि अनि खुशीयाली’ भन्ने नाराका साथ भलिवल खेलको प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम अन्तरगत गाउँपालिकाले सप्तेश्वर छितापोखरीको तृतियाभञ्ज्याङ खेलमैदानमा आयोजना गरेको भलिवल प्रतियोगितामा बेलका नगरपालिका रामपुर उदयपुरलाई पछि पार्दै उदयपुर स्पोर्ट्स क्लव गाइघाटले उपाधि चुमेको हो । हारसँगै बेलका नगरपालिका उदयपुर दोश्रो, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तेस्रो र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको ‘सी’ टिम सान्त्वना भएको खेल संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए ।


यस्तै, महिलातर्फ दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाले प्रथम उपाधि चुमेको छ । मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गालाई पछि पार्दै याम्खाले प्रथम उपाधि चुमेको हो । हारसँगै मानेभञ्ज्याङ गाउँपालिका दोस्रो, ऐसेलुखर्क गाउँपालिका तेस्रो र उदयपुर स्पोर्ट्स क्लब गाइघाट सान्त्वना भएका छन् ।


प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी उदयपुर स्पोर्ट्स क्लव गाइघाटका हरि अधिकारी र अनुशासित खेलाडी बेलका नगरपालिका उदयपुरका समिप श्रेष्ठ घोषित भए भने महिलातर्फ उत्कृष्ट खेलाडी दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाकी कुमारी कुवँर र अनुशासित खेलाडी मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाकी चन्द्रकुमारी बस्नेत घोषित भएको आयोजकले जनाएको छ ।

पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रो हुने टिमले ८० हजार, तेश्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ भने महिला भलिवल प्रतियोगितामा प्रथम हुने टिमले ६० हजार, दोश्रो हुने टिमले ४० हजार, तेश्रो हुने टिमले ३० हजार र सान्त्वना हुने टिमले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।

उत्कृष्ट तथा अनुशासित महिला खेलाडीलाई जनही तीन हजार र पुरुष खेलाडीलाई जनही पाँच हजार पुरस्कार प्रदान गरिएको जनाइएको छ । प्रतियोगीताका विजेता खेलाडीलाई दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।  फागुन २४ गते गाउँपालिका अध्यक्ष राईले उद्घाटन गरेको भलिवल प्रतियोगितामा पुरुषतर्फ १६ टिम र महिलातर्फ ७ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ ।

 

यस्तै, सोही अवशरमा गरिएको एकल नृत्य प्रतियोगीता खोटेहाङ गाउँपालिका–५ चिप्रिङकी सनिता राई प्रथम, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी सम्झना भुजेल द्वितीय, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी पवित्रा खड्का तृतीय र दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकै निसा कटुवाल सान्त्वना भएको गाउँपालिकाले जनाएको छ ।