बैशाख ६ देखि अन्तरपालिका स्तरीय फूटबल प्रतियोगीता हुने

चैत्र ४ मंगलवार, २७६
खोटाङ । खोटाङमा आगामी बैशाख ६ गतेदेखि अन्तरपालिका स्तरीय फूटबल प्रतियोगीता हुने भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका खेलाडी मात्र सहभागी हुन पाउने प्रतियोगीता दिक्तेलको माटिकोरे खेलमैदानमा आगामी बैशाख १० गतेसम्म सञ्चालन हुने छ ।

फूटबलको व्यवसायिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ खेलकुद महासंघ खोटाङले अन्तरपालिका स्तरीय फूटबल प्रतियोगीताको तयारी गरेको हो ।

जिल्लामा हुने हरेक फूटबल प्रतियोगीतामा अन्यत्र जिल्लाका खेलाडी ल्याएर सहभागी गराउने गरिएकामा स्थानीयस्तरका खेलाडीलाई मात्र अवशर दिनेगरी प्रतियोगीताको आयोजना गरिएको आयोजक खेलकुद महासंघ खोटाङका अध्यक्ष माईतीराज राईले बताए ।

प्रतियोगीताका प्रथम, दोश्रो र सेमीफाइनलिष्ट टिमलाई क्रमशः १ लाख ५५ हजार, ८५ हजार र ५५ हजार ५५५ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद महासंघले जनाएको छ ।

 

प्रतियोगीताका मेन अफ दि म्याच, उत्कृष्ट कोच, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र हाइ स्कोररलाई ५ हजार ५५५ रुपैयाँका साथमा प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

गत पुस २३ गतेदेखि २८ गतेसम्मका लागि तय गरिएपनि प्राविधिक एबं चिसो मौसमलाई कारण देखाउँदै स्थगित गरिएको प्रतियोगीता बैशाखमा गर्न लागिएको हो । जिल्लाका हरेक गाउँपालिकाबाट एक/एक टिम तथा नगरपालिकाबाट बढिमा दुई टिमलाई सहभागी गराइने आयोजकले जनाएको छ ।

 

‘जिल्लामा बेला–बेलामा फूटबल प्रतियोगीता सञ्चालन भइरहेका छन्, तर त्यी खेलमा जिल्लाकाभन्दा जिल्ला बाहिरका खेलाडीले मात्र अवशर पाउने गरेको छ,’ अध्यक्ष राईले भने, ‘त्यसका विपरित ओझेलमा परेका स्थानीय खेलाडीलाई अवशर दिएर खेल क्षेत्रको विकासका लागि पालिका स्तरिय फूटबल प्रतियोगीता गर्न लागिएको हो । यस खेलमा जिल्लाका पालिकाका खेलाडीले मात्र खेल्न पाउने छन् । स्थानीय खेलाडीलाई अवशर दिने प्रयास हो यो ।’

सहभागी टिमलाई हार नभएसम्मका दिनसम्म दैनिक ६ हजारका दरले सेवा सुविधा दिइने महासंघले जनाएको छ । प्रतियोगीताको अवधिमा २१ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष राईले बताए ।