कोरोना भाइरसः यौन जीवनमा असर पार्छ ?

चैत १२ बुधवार, २०७६
जब संसारभरी सोसल डिस्टेन्सिङ र सेल्फ आइसोलेशनको कुरा गरिँदै छ तब प्रश्न उठ्छ यौन सम्बन्धको । वैज्ञानिकका अनुसार अहिलेसम्म कोरोना भाइरस (कोभिड १९) को संक्रमण यौन सम्बन्धमार्फत् फैलिएको भन्ने कुनै तथ्य फेला परेको छैन । तर यो थाहा छ कि कोरोना संक्रमण कुनै संक्रमित व्यक्तिको सिधा सम्पर्कमा आएपछि सर्न सक्छ ।

युनिभर्सिटी अफ ईस्ट एंगलियाका मेडिसीन विभागका विज्ञ प्राध्यापक पल हन्टरले यौन सम्बन्धबारे बेलायती सरकारका तर्फबाट जारी गरिएको ताजा सल्लाहको अर्थ के हो भनेर सम्झाउने कोसिस गरेका छन् ।

प्राध्यापक पल हन्टर भन्छन्, ‘यदि तपाईं वा तपाईंको पार्टनरमा कोरोना भाइरसको संक्रमणको कुनै लक्षण छैन भने यौन सम्बन्ध रोक्नुपर्ने कारण छैन । तर यदि कसैको स्वास्थ्य खराब छ वा तपाईंमध्ये एकजना जोखिमको स्थितीमा हुनुहुन्छ भने कुनै पनि प्रकारको समाप्यिताबाट टाढै बस्नु नै बुद्धिमानी हुनेछ ।’

प्राध्यापक हन्टर र अन्य विशेषज्ञले आफ्ना नियमित पार्टनरबाहेक अरु कसैसँग पनि यौन सम्बन्ध स्थापित गर्नबाट बच्नुपर्ने कुरामा सहमती व्यक्त गरेका छन् ।

न्यूयोर्कको जनस्वास्थ्य विभागका अधिकारीले यौन गतिविधीका लागि नयाँ नियम जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैन भनेर स्पष्ट शब्दमा जानकारी दिइएको छ ।

हामी सबैले अन्य व्यक्तिसँगको अनावश्यक सम्पर्कबाट बच्नुपर्छ, एकअर्काबीच दुरी स्थापित गर्नुपर्छ । यसो गरे संक्रमण फैलनबाट रोक्न सकिन्छ । हामीलाई राम्रोसँग थाहा छ कि चुम्बनमार्फत् कोरोना निकै सजिलै फैलन सक्छ । त्यसकारण यदि तपाईं सिंगल हुनुहुन्छ भने पनि केही समयका लागि डेटिङ गर्नबाट बच्नुहोस् । एजेन्सी