सहकारीद्धारा ‘लकडाउन’ अवधिको हर्जना छुट

चैत्र २० बिहीवार, २०७६
खोटाङ । खोटाङका सहकारीले ‘लकडाउन’को अवधिको हर्जना छुट गर्ने भएका छन् । जिल्ला सहकारी संघ एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका सहकारीको बिहीबार बसेको संयुक्त बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण सहकारी बन्द रहेको अवधिको हर्जना छुट गर्ने निर्णय गरेको हो ।

हर्जना छुट पाउनका लागि ऋणीले ‘लकडाउन’ खुलेको १५ दिनभित्र किस्ता बुझाउनु पर्ने निर्णय भएको सक्रिया वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताए ।

‘लकडाउन’को मारमा परेका ग्राहकको सहुलियतका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गरेको आग्रह अनुसार नगरभित्रका सहकारीले नयाँ व्यवस्थाको निर्णय गरेको हो ।

जिल्ला सहकारी संघका अध्यक्ष अनिल जोशीको अध्यक्षतामा बसेको बैठकले ऋण भुक्तानी गर्ने भाका ‘लकडाउन’ खुलेको मितिबाट एक महिना थप गर्ने, हाल भाका पुगेका ऋणको नवीकरण असार मसान्तसम्म गर्ने, ऋणीलाई नवीकरण सेवा शुल्क वापत २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । ‘लकडाउन’का कारण हाल जिल्लामा सञ्चालित बचत तथा ऋण सहकारी बन्द रहेको छ ।

नगरपालिकाले ‘लकडाउन’ लागू भएको अवस्थामा नगरभित्रका लघुवित्त, विकास बैंक, बाणिज्य बैंक, कृषि, बहुउद्धेश्यीय र बचत तथा ऋण सहकारी संस्थालाई चैतभित्र बुझाउनुपर्ने किस्ता र व्याजको भाका असारसम्म पु¥याउन र सो अवधिको व्याज र हर्जना नलिन आग्रह गर्ने, चैतभित्र चुक्ता गर्नुपर्ने सहकारीको कर्जाको हर्जना ‘लकडाउन’पछि नलिन र कर्जा नवीकरण गर्दा लिइने सेवा शुल्कमा ५० प्रतिशत छुट दिन आग्रह गरेको थियो ।

यस्तै, राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालयको स्वीकृतिमा प्राप्त हुँदै आएको सहुलियत व्याजदरको महिला उद्यमी कर्जा, दलित उद्यमी कर्जा, कृषि कर्जा र बैदेसिक रोजगारबाट फर्केका उद्यमी कर्जा बाणिज्य बैंकको शाखा कार्यालयबाटै प्रवाह गर्ने व्यवस्थाका लागि आग्रह गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।