गाउँपालिका प्रमुखले कार्यक्रम गर्न नदिएको भन्दै संघीय समाजवादी विद्यार्थी फोरमको आपत्ति

खोटाङ । गाउँपालिका प्रमुखले कार्यक्रम गर्न नदिएको भन्दै संघीय समाजवादी विद्यार्थी फोरम खोटाङले आपत्ति जनाएको छ । केपीलासगढी गाउँपालिकाका प्रमुख कृष्णकुमार राईले पृथ्वी मावि वाक्सिलामा तय गरिएको हाजिरी जवाफ प्रतियोगीता सञ्चालन गर्न नदिएको भन्दै संघीय समाजवादी विद्यार्थी फोरमले आपत्ति प्रकट गरेको हो ।

वाक्सिलामा बुधबारका लागि तय गरिएको कार्यक्रममा सहभागीता नजनाउनका लागि गाउँपालिकाभित्रका प्रअ तथा शिक्षकलाई चेतावनी दिएर गाउँपालिका प्रमुखले लोकतान्त्रिक पद्धतिको मूल्य र मान्यताको धज्जी उडाएको जिल्ला इन्चार्ज रविन खम्बूद्धारा जारी विज्ञप्तिमा भनिएको छ । गाउँपालिका प्रमुखबाट विद्यार्थी राजनैतिक आन्दोलनलाई हस्तक्षेप गर्ने काम भएको विद्यार्थी फोरमले जनाएको छ ।

‘विभिन्न विद्यालयका प्रअ र शिक्षकलाई कार्यक्रममा विद्यार्थी नपठाउनु, पठाएको खण्डमा सहभागी विद्यार्थी, प्रअ र शिक्षकलाई कारबाही गर्ने धम्कीपूर्ण चेतावनी दिँदै रोक्ने काम गरेकामा गाउँपालिका प्रमुखको कदमप्रति घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीलाई संगठनमा आवद्ध हुने र राजनीतिमा सहभागी गराउन पाउने अधिकारमाथि ठाडो हस्तक्षेप गसिएको छ ।’

गाउँपालिका प्रमुखले सार्वजनिक रुपमा कार्यक्रम रोक्नुको औचित्य स्पष्ट नपारे र माफी नमागे बिवोधका कार्यक्रम गरिने संघीय समाजवादी विद्यार्थी फोरमले जनाएको छ । गा

उँपालिका प्रमुख राईले भने स्थानीय सरकारसँग समन्वय नगरेको र विद्यालय प्रांगणमा पार्टीको झण्डा राखेर कार्यक्रम गर्न लागेकाले अन्यत्र कार्यक्रम गर्न भनेको बताए ।

प्रकाशित मिति : असोज  ११  बिहिवार २०७५, समय ४ : ५९