विप्लव समूहका नेता अनिल शर्मा पक्राउ

बैशाख २३ मंगलवार, २०७७
चितवन । नेत्रविक्रम चन्द विप्लव समूहका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई प्रहरीले चितवनबाट नियन्त्रणमा लिएको हो ।

विरही पक्राउ परेको पुष्टि गृहमन्त्रालयका एक अधिकारीले पनि गरेका छन्।

पछिल्लो समय सरकारसँगको वार्ता प्रक्रियाका लागि क्रियाशील भइरहेका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो।

विरहीले सरकारसँग वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेसहित सत्तारुढ नेकपाका उच्च तहका नेताहरुसँग पटक पटक संवाद गरेका थिए।

विरही त्यही क्रममा काठमाडौं उपत्यकासहितका नजिकका भूगोलमा रहँदै क्रियाशील थिए।

तर सरकारले वार्ताका लागि औपचारिक रुपमा पत्र नपठाएपछि यो प्रयास असफल हुँदै आएको थियो। विप्लवसहित विरहीलाई पनि सरकारले खोजीको सूचीमा राखिरहेको थियो।