सोलार प्रविधिले खोलाको पानी गाउँमा

सांकेतिक तस्विर ।
जेठ २ शुक्रवार, २०७७
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका –५ दुर्छिममा सोलार प्रविधिले खोलाको पानी गाउँमा निकालिएको छ । नजिकमा मुहानको अभावका कारण वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका दुर्छिमवासीका लागि प्रदेश सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर–२ ओखलढुंगाको आर्थिक तथा प्राविधिक सहयोगमा सौर्य उर्जा प्रयोग गरेर स्थानीय राबु खोलाबाट एक हजार ६ सय १० मिटर माथि गाउँमा पानी निकालेर वितरण गरिएको हो ।

स्थानीयको लगातार ३ वर्षको प्रयासपछि ३ हजार केभीए क्षमताको सोलार प्रविधिमार्फत खोलाको पानी गाउँमा लिफ्ट गरिएको राबु खोला लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष चक्रकुमार राईले बताए । खानेपानी आयोजनाबाट साविकको दुर्छिम–७ राबु र दुर्छिम–१ जोरकाफलका ९१ घरका ४५७ घर परिवार लाभान्वित भएका छन् ।

पानी लिफ्टिङका लागि खोलामा ७५ हजार लिटरको, बीचमा ५५ हजार लिटरको र राबु सिरानमा १ लाख लिटरको ट्यांकी बनाइएको छ । सोलार प्रविधिबाट घाम लागेको बेला दैनिक ५० एमएमको पाईपमार्फत बिहान ११ बजेदेखि ३ बजेसम्ममा ५४ हजार लिटर पानी गाउँमा निस्कने गरेको उपभोक्ता समितिले जनाएको छ ।

‘डाँडापाखाको सबै मुहान सुक्यो । ९/१० पुस्ताले ढाडमा खानेपानी बोकेर खाए, अहिले लिफ्टिङ गरेको पानी गाउँमा वितरण गरिएपछि अध्यक्ष राईले भने, हामीले कम्तीमा घर–घरमा बाँड्न सफल भएका छौँ ।’ गाउँलेलाई एक गाग्री खानेपानी लिनकै लागि डेढ घण्टा टाढा पुग्नुपर्ने बाध्यता हटेको छ ।

विद्युतबाट पानी लिफ्ट गर्दा महंगो शुल्क तिर्नुपर्ने भएकाले सो लिफ्टिङ आयोजनामा सोलार सिस्टमको प्रयोग गरिएको हो । सोलारबाट निकालिएको पानीको शुल्क प्रतिलिटर ६ पैसा लाग्ने गरेको उपभोक्ता समितिका अध्यक्ष राईले बताए ।

गाउँमा भएका मुहान २०७२ सालको भूकम्पले सुकेपछि राबुमा खोलाको पानी निकाल्ने योजना अघि सारिएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको एक करोड ७७ लाख बराबरको नगद तथा जिन्सी सहयोग एबं उपभोक्ताको २३ लाख ३२ हजारको श्रमदानबाट लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको हो ।