प्रतिनिधिसभा सदस्यलाई नै क्वारेन्टाइनमा राख्न कांग्रेसको माग

जेठ ८ बिहीवार, २०७७
खोटाङ । कांग्रेसले लकडाउनकाबीचमा स्वास्थ्य सामग्री लिएर खोटाङ आएका प्रतिनिधिसभा सदस्य विशाल भट्टराई लगायतलाई क्वारेन्टाइनमा राख्नुपर्ने माग गरेको छ ।

लकडाउनका बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा बिभागबाट स्वास्थ्य सामग्री लिएर जिल्ला आएको भन्दै नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर–२ ले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै क्वारेन्टाइनमा राख्नुपर्ने आवाज उठाएको हो ।

लकडाउनमा आवत–जावत गर्नुले ‘लकडाउन र क्वारेन्टाइन गरीब, दुःखी, किसान र मजदुरलाई मात्रै हो, पहुँचवालालाई नियम–कानून लाग्दैन’ भन्ने देखिएको नेपाली कांग्रेस क्षेत्रीय कार्य समितिले जनाएको छ ।

बुधबार साँझ दिक्तेल आइपुगेका प्रतिनिधिसभा सदस्य भट्टराईले बिहीबार भिटिएम, ¥यापिड टेस्ट किट, सेनिटाइजर, गाउन, एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण गरेका थिए ।

‘जिल्लामा स्वास्थ्य सामग्री ल्याइनु स्वागत योग्य भए पनि सत्ताको दुरुपयोग गर्दै एक जिल्लाबाट अर्को जिल्ला जानुले मन्त्री परिषदको निर्णय उल्लंघन गरिएको छ,’ क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहुँचवालाबाट संक्रमण फैलिने विषयलाई नजरअन्दाज गर्ने, प्रकृया, सुशासन र पद्धतिको धज्जी उडाउँदा प्रशासन किं कर्तव्यविमुख हुनुले सानालाई ऐन र ठूलालाई चैन भन्ने उक्ती पूष्टी भएको ठहर छ ।’

लकडाउन र सामाजिक दुरी उल्लंघन गर्ने प्रतिनिधिसभा सदस्य र सहयोगीलाई निमुखा जनतालाई झैं क्वारेन्टाइनमा राख्ने व्यवस्थाका लागि आवाज उठाइएको कांग्रेस क्षेत्रीय कार्य समिति सभापति भट्टराईले बताए ।

विज्ञप्तिमा यही कारण जिल्लामा संक्रमण फैलिएमा सम्वन्धित पक्ष र सरोकारवाला जवाफदेही रहनुपर्ने चेतावनी दिइएको छ । विपद व्यवस्थापन समितिले पटक–पटक स्वास्थ्य सामग्री माग गरेको र मन्त्रालयले पठाउनै पर्ने अत्यावश्यकीय सामग्री शक्ति र सत्ताको आडमा विभागबाट बुझ्नु र लकडाउन उल्लंघन गर्दै हस्तान्तरणको नौटंकी गरिनु खेदजनक रहेको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य भट्टराईले भने सांसद प्रवेश गर्न पिसिआर अनिवार्य गरिएकोले पिसिआरको नेगेटिभ रिपोर्ट बोकेर हिँडेको बताएका थिए ।