चार व्यवसायीलाई प्रशासनमा उपस्थित हुन निर्देशन

खोटाङ । म्याद गुज्रेको उपभोग्यबस्तु बिक्री गरिरहेको भेटिएपछि खोटाङका चार व्यवसायीलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । नजिकिँदै गरेको दशैं तिहारका समयमा हुन सक्ने मूल्याबृद्धि, कालोबजारी, कृत्रिम अभाव लगायतका समस्याका बिषयमा सहायक प्रमुख जिल्ला अधिकारी संयोजकत्वको बजार अनुगमन समितिले गरेको बजार अनुगमनकाक्रममा म्याद गुज्रेको उपभोग्य सामग्री फेला परेपछि दिक्तेलबजारका चार व्यवसायीलाई प्रशासनको मुद्धा शाखामा उपस्थित हुन निर्देशन दिइएको हो ।

 

बजार अनुगमनकाक्रममा म्याद गुज्रेका बिस्कुट, चाउचाउ, चकलेट, सस लगायतका खाद्य सामग्री फेला परेपछि ५ दिनभित्र प्रशासनमा उपस्थित हुन पत्र काटिएको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले बताए । म्याद गुज्रेका सामान जफत गरेर प्रशासनमा राखिएको छ ।

दिक्तेल बजारका २९ खाद्य पशल अनुगमन गर्दा चार पशल बिना दर्ता सञ्चालन गरिरहेको पाइएको छ । सो पशलका सञ्चालकलाई तत्काल व्यवसाय दर्ता गरेर सञ्चालन गर्न भनिएको अनुगमन समितिले जनाएको छ ।

 

यस्तै एक क्लिनिकको अनुमतीको समय अवधि सकिएको पाइएकाले तत्काल नबिकरण गर्न चेतावनी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी सुबेदीले बताए । चाडबाडलाई मध्यनजर गर्दै बजार अनुगमन समितिले शुक्रबार दिक्तेलका खाद्य पशल, होटल, कस्मेटिक पशल, क्लिनिक लगायतको अनुगमन गरेको हो ।