पोखरेलको लोक दोहोरी म्यूजिक भिडियो सार्वजनिक

खोटाङ । खोटाङका संगीतकर्मी धर्मराज पोखरेलको लोक दोहोरी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल बुढानिलकण्ठ नगरपालिका–८ काठ्माण्डौं बस्दै आएका लोक गायक पोखरेलको ‘हामी त लै लै खोटाङ दिक्तेल बजारको’ बोलको लोक दोहोरी गीतको भिडियो यूटुवमार्फत सार्वजनिक गरिएको हो ।

लोक गायक पोखरेल र गायिका निशा कार्कीको आवाज रहेको लोकदोहोरी गीतको म्यूजिक भिडियोमा स्वयं गायक पोखरेल, गायिका कार्की लगायतको अभिनय देख्न सकिन्छ । पोखरेलको शव्दमा शिवसंगम राईको संगीत रहेको म्यूजिक भिडियो शुक्रबार यूटुवमार्फत सार्वजनिक गरिएको हो ।

खोटाङ र सोलुखुम्बुका विभिन्न ठाउँको वर्णन गरिएको गीतमा सोलुखुम्बूकी युवती र खोटाङका युवाबीचको प्रेमलाई दृश्यमा उतारिएको छ । १० मिनेट लामो गीतमा खोटाङको बुईपा, राजापानी, विजयखर्क, अर्खौले, नुनथला, हलेसी, दिक्तेल, ऐसेलुखर्क, पञ्चमीबजार लगायतका ठाउँको बर्णन गरिएको छ । लोकदोहोरीको म्यूजिक भिडियोको भ्यूअर र कमेन्टले उत्साहित बनाएको पोखरेलले बताए ।

२०४८ सालमा रेडियो नेपालको चौतारीमा गाउँदै सांगीतिक यात्रामा लागेका पोखरेलका ‘उँडी जाने जेट, शिर–शिर वतास, पूर्व धरान, पश्चिम पोखरा लगायतका १९ वटा गीत बजारमा आइसकेका छन् । पेशाले ईन्जिनियर पोखरेल राजनीतिकर्मी पनि हुन् ।


संगीतकर्मी पोखरेलले गत बैशाख यता ६ वटा लोकदोहोरीका भिडियो गीत ल्याएका छन । ‘खोटाङ मध्यवसेरी, सिमपानीमा गेट, धारापानीमा, राष्ट्रियता, प्रजातन्त्र, उदारवाद,’ लगायतका बोलको भिडियो गीत बजारमा ल्याएका हुन् । त्यसमध्ये ‘राष्ट्रियता, प्रजातन्त्र, उदारवाद’ बोलको गीत राप्रपाको चुनावी अभियानका लागि तयार पारिएको हो ।