सालपा विकास बैंकको चौथो शाखा सिम्पानीमा

खोटाङ । खोटाङका नागरिकको लगानीमा स्थापित सालपा विकास बैंकले चौथो शाखा बिस्तार गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित खोटाङबासीको सहकार्यमा २०६९ साल साउन ३ गतेदेखि दिक्तेलबाट बैंकिङ कारोबार शुरु गरेको बैंकले खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा चौथो एक्टेन्सन शाखा बिस्तार गरेको हो ।

गत भदौ २१ गतेदेखि नै कारोबार सुरु गरिएको सिम्पानीको शाखा सोमबार खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदीप राई र सञ्चालक समितिका अध्यक्ष टंक राईले उद्घाटन गरेका हुन् । शाखा उद्घाटनकाक्रममा बैंकका कार्यकारी अधिकृत ईश्वरमान राईले बैंकिङ साक्षरता एबं बैंकका साझेदारबीचमा सन्तुलन कायम गर्दै वित्तीय सेवा प्रवाह गर्ने बताए ।

शाखाबाट निक्षेप परिचालन, कर्जा प्रवाह, रेमीट्यान्स, लघु बित्त लगायतका सेवा प्रवाह गरिने बैंकका कार्यकारी अधिकृत राईले बताए । ‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानु पर्छ’ भन्ने अवधारणा सहित सालपाले बिभिन्न स्थानीय तहमा शाखा बिस्तार गर्दै जाने जनाएको छ ।

यस्तै, जन्तेढुंगा गाउँपालिकाको केन्द्रका रुपमा रहेको चिसापानी बजारमा पनि आईतबार सालपा विकास बैंकको शाखा बिस्तार गरिएको छ । जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राई र बैंकका सञ्चालक समितिका अध्यक्ष टंक राईले बैंकको शाखा उद्घाटन गरेका हुन् । दिक्तेलको अम्बागाछीमा मूख्य कार्यालय रहेको सालपा विकास बैंकले यसअघि ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्कमा र हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा एक्टेन्सन शाखा बिस्तार गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ श्रेणीको इजाजतपत्र प्राप्त बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, ८ किसिमका मुद्दती खाता र ९ किसिमका कर्जा तथा सापट विप्रेषण लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

यस बाहेक आईएमई, प्रभु मनि ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सि.जि. फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवा समेत प्रदान गर्दै आएको बैंकले जनाएको छ ।