वडाध्यक्षलाई लक्षित गर्दै बोत्तल हानिएको भन्दै कांग्रेसको ध्यानाकर्षण

जेठ २२ विहीवार, २०७७
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यलाई लक्षित गरेर बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्य समितिले ध्यानाकर्षण भएको जनाएको छ ।

गत जेठ १८ गते वडाको काम सकेर योजना अनुगमनका लागि भवनगैराबाट आचार्यगाउँतर्फ झर्ने क्रममा वडाध्यक्ष आचार्यमाथि दिउँसो ३ बजे बियरको बोत्तल प्रहार गरिएको भन्दै कांग्रेस नगर कार्य समितिले विज्ञाप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको हो ।

कांग्रेस नगर कार्य समितिले वडाध्यक्ष आचार्यमाथि बोत्तल प्रहार गर्ने व्यक्तीको पहिचान गरी कानूनी कारबाही गर्न माग गरेको छ ।

जिल्ला समन्वय समितिको समिक्षालय हलभन्दा मुनि तथा पुष्पलाल स्मृति भवन अगाडि पुगेका बेला वडाध्यक्षलाई लक्षित गरी बोत्तल हानिएको कांग्रेस नगर कार्य समितिका सभापति दुर्गाप्रसाद घिमिरेले बताए ।

एक जना आफन्तसँगै ओरालो झरिरहेका वडाध्यक्षको एक मिटर पछाडि सडकमा बोत्तल बजारिएर छरपष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘कसले बोत्तल हानेको’ भन्ने नखुलेको कांग्रेस नगर कार्य समितिले जनाएको छ ।