नेपाल तरुण दल खोटाङद्वारा सरकार समक्ष मूल्य बृद्धि नियन्त्रणको माग

 

नेपाल तरुण दल खोटाङले दशैं र तिहारको समयमा भएको मूल्य बृद्धि र महंगी नियन्त्रणको माग गरेको छ । चाडबाडका समयमा उपभोग्यवस्तुमा भएको मूल्य बृद्धि र महंगीले सर्वसाधारण मारमा परेको भन्दै तरुण दलले सरकार समक्ष मूल्य बृद्धि नियन्त्रणको माग गरेको हो ।

चाडपर्वको समयमा सर्वसाधारण जनतालाई राहत दिनुपर्नेमा उल्टै गैर–जिम्मेवार ढंगले मूल्य बृद्धि गरिएको भन्दै तरुण दलका जिल्ला अध्यक्ष भिषण राईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र पठाएको हो ।

तरुण दलले दशैंको मुखमा गरिएको पेट्रोलियम पर्दाथको मूल्य बृद्धि फिर्ता लिन, कालो बजारी र तस्करीलाई नियन्त्रण गर्दै कारबाही गर्न, दशैं तिहारलाई मध्यनजर गर्दै ७५३ वटै स्थानीय तहमा उपभोग्य वस्तु उपलव्ध हुने गरी सुफत मूल्यको पशल व्यवस्था मिलाउन, चाडपर्वमा शहरबाट गाउँ भित्रिने यात्रुका लागि पर्याप्त सवारी साधनको व्यवस्था मिलाउन, चाडपर्वका समयमा हुन सक्ने बिभिन्न घटनामा सतर्कता अपनाएर जनधनको सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ ।

यस्तै, गरिब तथा असहाय र विपन्न नागरिकलाई राहतको घोषणा गर्न, अदालत र प्रेस स्वतन्त्रता मागि गरिएको हस्तक्षेप तत्काल बन्द गरी स्वतन्त्र न्यायलय र प्रेस स्वतन्त्रताको सम्मान गर्न तरुण दलले सरकार समक्ष माग राखेको छ ।

यसैबीच, नेपाल तरुण दल खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर छिटोभन्दा छिटो कानूनी कारबाहीको दायरामा ल्याउन सरकार समक्ष माग गरेको छ । बालिका पन्तको हत्या भएको दुई महिना बित्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै तरुण दलले तत्काल अपराधी पत्ता लगाएर कडाभन्दा कडा कारबाहीको माग गरेको हो ।

तरुण दलले दोषीलाई कारबाहीको दायरामा ल्याएर सम्पूर्ण चेलीबेटी एबं दिदीबहिनीलाई सार्वजनिक स्थानमा निर्भय र स्वतन्त्र रुपले हिड्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ‘निर्मलाको बलात्कार गरी हत्या गर्ने अपराधीलाई कानूनी कठ्घरामा उभ्याएर कडाभन्दा कडा कारबाही गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सम्पूर्ण चेलीबेटी एबं दिदीबहिनीलाई सार्वजनिक स्थानमा शान्तिपूर्ण ढंगले हिड्न सक्ने वातावरण मिलाइयोस् ।’