‘जनताको अपेक्षा बढि, सरकारको काम कम’

दिक्तेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै पूर्वसांसद एबं नेकपा नेता टंक राई ।

 

नेकपाका नेता तथा पूर्वसांसद टंक राईले वर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । दशैं तिहार, छठ, नेपाल सम्बत एबं उद्यौलीको अवशरमा नेपाल कम्यूनिष्ट पार्टी खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्वसांसद राईले दुई तिहाई मत भएको सरकारप्रति जनताको अपेक्षा बढि भएपनि जन चाहाना अनुसार काम हुन नसकेको बताएका हुन् ।

 

सामान्य अल्पमतको सरकारप्रति जनताको खासै चासो र अपेक्षा हुन्न रहेछ, तर दुई तिहाईको सरकार भएपछि जनताको चाहना उच्च हुँदो रहेछ, जे पनि गर्न सक्छ भन्ने हुँदो रहेछ,’ नेकपाका नेता राईले भने, ‘जनताले जे अपेक्षा गरेका छन्, त्यो अपेक्षा अनुसार हामीले काम गर्न सकेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन, यसलाई हामीले स्वीकार गर्नुपर्छ । तर, सरकारको आलोचना मात्र समाधान होईन । हामी आफूले आफ्नो ठाउँमा कहाँ, के गर्न सक्छौँ त्यो दायित्व भने पूरा गर्नुपर्छ ।’

दुई तिहाई मत भएकाले वर्तमान शक्तिशाली सरकारलाई कुनै बाहना गर्ने छुट नभएको पूर्वसांसद राईको भनाई थियो । उनले राजनीतिमा आएको विकृतिका कारण नेता र कर्मचारी जनताका सामु अविश्वासको पात्र बनेको बताए । राजनीतिमा विकृति आएको छ । नेपालको राजनैतिक शव्दकोषबाट त्याग भन्ने शव्दावली लोप हुन लागेको छ,’ राईले भने, राजनीतिमालाई एउटा नैतिक, स्वार्थरहित र सामाजिक उत्तरदायित्व, सामाजिक कर्तव्य र स्वार्थरहित सामाजिक सेवाका रुपमा अंगीकार नगरेसम्म समाजले सन्तुष्टि प्राप्त गर्न सक्दैन ।’