जेठा ‘बा’ को बेठी
मानवहादुर खत्री
जेठ २५ आइतवार, २०७७
खोटाङ । पहाडी इलाकाको एउटा गजुरी नामको गाउँ, गाउँको एउटा सुन्दर हरियाली बस्ती, चाक्लो आवास, झुरुप्प घर, झिंगटीको छानो, तीन तले अनि ढुंगा र माटोले बनेको र कमेरो लगाएको साथै काठमा हरियो इनामेल लेपन, फराक सफा आगन, आगनको डिलमा लटरम्म फुलेका रंगिन फूलहरु, घर पछाडी आधुनिक गोठ अनि दुई माउ दुहुना गुजराती भैसी अनि एक हल गोरु ।
गोठको अर्को छेउमा बाख्राको काठले बनेको खोर, दश आठ ओटा ठूला खसी अनि केही माउ बाख्रा र पाठाहरु, आगनको अर्को कुनामा परेवाको गुढ अनि बिहान उठ्ने बितिक्कै एक दुई पाथी अन्न परेवालाई छरिदिने ‘बा’ को नित्य बानी ।
त्यहि नजिकै कुखुराको खोर अनि सात आठ ओटा छुरी पलाएका भाले र अण्डा दिदै गरेका केहि पोथीहरु । घरको दुई सुरमा बडेमानका सप्रिएका, खाइलाग्दा कुकुरहरु अनि ‘बा’ ले माया गरेर पालेको एउटा खैरो र बलियो बिरालो ।
घरदेखि करिव दश मिटर पर एउटा सुन्दर करेसा बारी जहाँ धेरै थरिका तरकारीका जातहरु अनि छेउमा एउटा विशाल पोखरी, जहाँ ग्रास कार्प जातका सलबलाई रहेका सप्रिएका माछाहरु अनि त्यसको अलि पर सुन्दर बगैचा र जात जातका फलफूलहरु फलेका ।
घरको यस्तो व्यवस्था हेर्दा जो कोहिले पनि अन्दाज गर्न सक्छ कि ‘बा’ एउटा सम्पन्न, सुझबुझ भएका अनि जागरिला व्यक्ति हुन् । घरको सिरानबाट बाह्रै मास बगी रहने सरकारी कुलो अनि चटक्क मिलेको बारी साथै करिब असी मुरी मार्सी धान फल्ने नामी खेत, असोज कार्तिक तिर हेर्दा पहेलो धान लहलह झुलेको देख्दा कसको पो मन लोभिदैन होला र ! आलिमा लटरम्म फलेका काला मास अनि कान्लामा पहेल पुर फिलुंगे फुलेको, साहित्यिक भावना भएको जो कोही पनि व्यक्ति त्यहाँ पुग्दा धेरै बहकिन्छ, लोभिन्छ अनि केहि न केहि त पक्कै लेखी नै हाल्छ ।
उता तिर आगनको भित्तामा नौ कोठे मकैको थान्ग्रो, भकारी भरि पोहोर सालको धान, कोठामा कोदो, तोरी, भटमास, टिनमा तेल अनि दुई चार हर्पे भरि घिउ । भान्सा कोठामा कास पितल अनि तामाका भाडा कुडाहरु अति चम्किला अनि सजाएर राखिएका, उता सुत्ने कोठामा भने दुई मुड्की बाक्ला राडी, सिरक अनि डसनाहरु जोहो गरि राखेका यस्तो उच्च प्रबन्ध हेर्दा अन्दाज सजिल्यै लाग्छ कि जेठा ‘बा’ सम्पन्न अनि दुई चार गाउँ गनिएका, कहलिएका व्यक्ति हुन् ।
बिहान भरि भेटघाट गर्ने, सोस्ती गर्ने, गफगाफ गर्ने अनि ऐचो पैचो माग्ने, ऋण माग्ने आसामुखीहरुलाई चिया पकाउन मै अन्जली नानीको समय सकिन्छ, उनि पारि गाउँकी गरिब बाहुनकी छोरी हुन् लामो समयदेखि त्यहि बस्छिन अनि सबैले उनलाई माया गर्छन त्यहि परिवारको सदस्य झैँ । ‘बा’ का तीन भाइ छोराहरु पनि मुग्लान पसेका छैनन् त्यहि बाको पूर्खेउली पेसा मा व्यस्त छन्, अन्नपात, खसीबोका, फलफूल अनि भैसी पाडा बेचेर बर्षमा करिब दुई/चार लाख आम्दानी गर्न यो परिवारलाई कुनै समस्या छैन र गतिम्लो तरिकाले गुजारा चलेको छ ।
‘बा’ को घरमा राम्रो संस्कारको विकास छ ठूलाले सानोलाई माया गर्ने अनि सानोले ठूलाको आदर सम्मान गर्ने र उसको अराई बोलाइमा यो परिवार परापूर्व कालदेखि चल्दै गरेको छ । तीन ओटी बुहारी अनि नातिनातिनाले यो घर ठूलो परिवार भएको छ तर यहाँ ठूलो स्वर अनि बाझोजुझो कहिल्यै पनि सुनिदैन, सबै इमान्दार, भलादमी, सहनशील, अनुशासित अनि जिम्मेवारी छन्, कसैले पनि कसैलाई अराई बोलाइ गर्न पर्दैन सबै आफ्नो काममा पूर्ण जिम्मेवारी छन् ।
बेलुकाको खान्की खाएर सबै टिभी कोठामा भेला भएर रमाइला कार्यक्रम हेर्छन, रमाइलो गर्छन अनि मिठा मिठा भलाकुसारी गरि आफ्नो आफ्नो कोठामा सुत्न जान्छन । ‘बा’ त्यो गाउँका अनुकरणीय अनि ग्राम पिता कहलिएका छन, मेला पर्व, सभा कचहरी, विवाह, ब्रतवन्ध, मर्दापर्दा सबै त्यहि ‘बा’ को आगनमा सल्लाहको लागि ओइरो लाग्छन भने ‘बा’ ले पनि सबैलाई मिलाएर, रिझाएर राख्न सकेका छन् । कृषि कर्म, पशुपालन, अर्गानिक खान्की अनि आत्म स्वाबलम्बीका साथै आपसी मेलमिलाप र अनेकतामा एकता त्यो गाउँको विशेषता हो ।
धनमा तलमाथि होला तर मनमा र इज्जत अनि श्रममा सबै गाउँलेहरु एक से एक छन् । चण्डी, धान नाच, हुर्रे नाच, जितिया पर्व, मारुनी नाच, बालन, संगिनी, मारुनी नाच, लाखे नाच अनि गाइजात्रा र ठाकठूके जस्ता पर्व त्यहाँका साझा पर्व हुन् अनि सबै मिलेर, हातेमालो र अंकमाल गरेर मनाउछन् ।
लिंगीय, जातीय, धार्मिक, सांस्कृतिक र भाषिक भेदभाव अनि सोचाई त्यो गाउँमा आजसम्म कसैमा छैन, सबै दाजुभाइ । धनी, गरिब, उच्च, निच्च, होचो, अर्गेलो सबै मिलाएर ‘बा’ ले एक किसिमको राम राज्य खडा गरेका छन् । आर्थिक रुपमा जेठा बा अलि सम्पन्न भएता पनि उनले कसैलाई रुखो व्यवहार, घोचपेच, थिचोमिचो अनि सामन्ती व्यवहार गरेका छैनन् ।
सबैको चित्त बुझाएर नै बसेका छन् त्यसैले त्यहाँ, सुख शान्ति, मेलमिलाप अनि भाइचाराको सम्वन्ध अझै डगमगाउन पाएको छैन् । वल्लो पल्लो गाउँका मानिसहरु पनि त्यो गाउमा शिर उठाएर हेर्न सक्दैनन् किनकि गाउँ एक छ अनि मिलेको छ, सबै किसिमका समस्याहरु गाउँबाट नै हल हुन्छन, समग्रमा त्यो गाउँ एउटा अनुकरणीय अनि नमुना गाउँ हो ।
पार्टी बनाउने, चौतारो, फलौचा, बाटो बनाउन, काठे पुल बनाउन, पिउने पानीको व्यवस्था अनि बरपिपल रोप्ने जस्ता सामान्य र सामाजिक कार्यमा उनीहरु सरकारको कहिल्यै मुख ताक्दैनन, सबै भेला हुने काम गर्ने रमाइलो गर्ने खाने पिउने नाचगान गर्ने उनीहरुको चलन छ । यसले अहिलेसम्म नियम र कानुनको काम गरेको छ ।
गाउँ सुन्दर, हराभरा, रमाइलो छ अनि प्रत्येक पन्ध्र दिनमा उनीहरु गाउँको बिचको खुला चौरमा भेला हुन्छन, भोज खान्छन, दुःख सुख साटछन्, नाच्छन, गाउँ छन । मनोरञ्जन गर्छन, कति लोभ लाग्दो गाउँ, चलन अनि व्वस्थापन ? आज असार वीस गतेको दिन, गाउँका सबै कृषक रुको सानो तिनो रोपाइँ सक्की सकेको अनि सबै फुर्सदिला भएका छन् भने जेठा ‘बा’ को गहिरी खेत भने हिलोआली गरेर रोपाइँ गर्न ठिक्क पारेको छ ।
सदै त्यो खेतमा सबै भन्दापछि अनि एकै रोपाइँ अनि गाउँ भरिकै ठूलो रोपाइँ सबै मान्छे गोरु सहित हली रोपाहार, बाउसे, ब्याड़े, पानीको जोहो गर्ने, हाहा होहो गर्ने सबै गाउँबासीलाई खेतालाको चुल्हे निम्तो छ अनि सिरान घरे काइलालाई पनि बाजागाजा सहित निम्तो पुगेको छ । त्यसैगरी तल्ला घरको ठाइलो मगर भाईलाई पनि खानपिनको व्यवस्थापनको संयोजक बनाएर खेताले निम्तो पुगी सकेको छ्र ।
केटाकेटी महिला पुरुष सबैमा नछुटाई बोलाओट भएको छ आज जेठा बाको गैरी खेतको बेठी । खेतदेखि माथ्लो सानो चौरमा दुई वटा बडेमान खसी काटिदैछ, भोजको जोहो हँुदैछ भरेको लागि भने चिउरा, केरा अनि गाउँभरिको दही भेला भएको छ । दिउँसोको खाजाको लागि, सबैका गरि वीस हल गोरु, असी जना रोपाहारे, वीस जना बाउसे, ब्याड़े, नाच गान गर्ने, हेर्नेहरुको बाक्लो उपस्थितिले खेत सबै ढाकिएको छ भने ‘असारे गित,’ ‘पच आइज’, ‘होरा फर्की’, ‘ह ह मेलो लाग’ जस्ता शब्दले रौनाक छाएको छ ।
हिलो खेल्ने, पञ्चे बाजामा नाच्ने अनि रमाइलो गर्ने उत्तिकै छ भने जेठा ‘बा’ सिरानको आलीमा बसेर रमिता हेर्दै जुंगामा ताउ लाउदैछन् । तीन वीसबाट पनि उकालो लागेका जेठा ‘बा’ जैविक खान्किले होला राता पिरा खाइलाग्दा अनि बलिया छन् । अझै उस्तै परे दुई चार जना लर्दुहरुलाई ठाउँको ठाउँ पछार्न पनि सक्छन, अग्लो शरीर, मोटो ज्यान, गहुँगोरो वर्ण, पोटिला गाला, अलिकति मात्र केस भएको ताक्लु टाउको अनि ठूलोदार भएका ‘बा’ हष्टपुष्ट नै छन् ।
अहिलेसम्म अस्पताल नपुगेका अनि एउटा चक्कीसम्म नखाएका ‘बा’ सामान्य रुखाखोकी अनि ज्वरो दुखाइ गाउँघरकै जडिबुटीबाट निको हुन्छन, झिना मसिना रोग त त्यतिकै पचाइदिन्छन् । उनलाई प्रेसर, सुगर, युरिक एसिड, दम कुनै बिमारको अहिलेसम्म समस्या छैन ।
परिश्रम गर्ने अनि स्वच्छ ताजा अनि अर्गानिक खान्किले पचाई दिएको छ । बिहान उठेर नित्यकर्मपछि पूजा, आज्ञा, भजन किर्तन सकेर मोटो चिया अनि एक घान मकै भटमाससँगै उनको दैनिकी सुरु हुन्छ । हरियो सागसब्जी, दही, मही, घिउ, लोकल चामल अनि शुद्ध मासु नियमित सेवन गरेका ‘बा’ लगायत त्यो गाउँका सबै स्वस्थ्य छन् भने गाउँको स्वास्थ्य चौकीमा आएका अहेव काम नभएर त्यहि ‘बा’ को घरमा आएर दिन भरि कुरा जोतेर खाजा समेत खाएर बेलुका फर्किन्छन् ।
धेरै खेताला भएकोले करिब तीन बजे तिर नै ‘बा’ को सबै रोपाइँ सकिन्छ, त्यो गाउँको नै रोपाइँ सकिएकोले खुशी हँुदै मस्त खानपिन नाँचगान गरेर बेलुकीसम्म सबै त्यहि बस्छन, गफ चुटछन्, हासी मजाक गर्छन अनि राती ‘राको’ बालेर आ–आफ्नो घर फर्किन्छन् । त्यो दिन कसैको मा पनि चुल्हो बल्दैन, सबै सपरिवार त्यहि चुठछन् ।
पानी लगाउने, खसी काट्ने, काम गर्ने, कोदो रोप्ने, धान गोड्ने सबै कामको पालो लगाएको अनि सबै भेला भएर काम तमाम गर्छन । स्थानीय सरकारले यो गाउँलाई नमुना गाउँ घोषणा गरि अभिनन्दन र पुरस्कार समेत दिई सकेको छ । यो सबै जस गाउँलेहरु उनै जेठा ‘बा’ लाई दिन्छन् । (लेखक खत्री सरस्वती मा.वि.साकेला–५ मात्तिम, खोटाङका शिक्षक हुन् । )
खोटाङ / दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४, बुइपाकाे कार्यवाहक
साहित्यिक पत्रकार संघद्वारा आयोजित दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर
खोटाङ , खोटाङको साकेला गाउँपालिका–१ बाझेच्यानडाडाँ सेखुवाबाट प्रहरीले
खोटाङ, ३० असार। जलस्रोत तथा सिँचाइ विकास डिभिजन
खोटाङ । खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा
खोटाङ। खोटाङमा आत्महत्याका घटनामा वृद्धि देखिएको छ। जिल्ला
नेपालमा गरिएको विभिन्न स्वास्थ्य सर्वेक्षणहरूले पूर्ण स्तनपान गराउने



