जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, महन्थ र उपेन्द्र अध्यक्ष, वरिष्ठ नेतामा बाबुराम भट्टराई

जेठ २५ आइतवार, २०७७
काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ ।

महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष भएका छन् । यस्तै, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेताका रुपमा रहेका छन् ।

ठाकुर र यादवको अध्यक्ष रहने गरी आइतबार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी निर्वाचन आयोगमा दर्ता भएको हो ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो ।

तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन । जनता समाजवादी पार्टीको दर्ता नम्बर १ हजार ३ सय ९२ भएको छ।