ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच सहित सामाजिक सुरक्षा भत्ता

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँच सहित सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्धबृद्धाको सामान्य स्वास्थ्य समस्या हल गर्नका लागि वडा कार्यालयले बुधबारदेखि स्वास्थ्य जाँच सँगै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो ।

१७४ ज्येष्ठ नागरिक रहेको वडामा स्वास्थ्यकर्मीबाट स्वास्थ्य जाँच गर्दै आवश्यक औषधि वितरण सुरु गरिएको वडा अध्यक्ष रामचन्द्र राईले बताए ।

सामाजिक सुरक्षा भत्ता लिन आएका ज्येष्ठ नागरिकको हेल्थ असिष्टेण्ट र अहेवले स्वास्थ्य जाँच गर्दै सिटामोल, जीवनजल लगायतका औषधि वितरण गर्ने व्यवस्था मिलाइएको छ । बुधबार करिब सय जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य जाँचका साथमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्धबृद्धाको नङ काट्ने, नुवाई धुवाई लगायतका सरसफाईमा ध्यान दिन आफन्तलाई भनिएको छ ।

वडा कार्यालय खार्मीले ज्येष्ठ नागरिक विद्यवा बाहेक, ५ वर्षमुनिका ५६ बालबालिका, ४० जना अपाङ्ग, २२ जना दलित ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेको वडा सचिव चित्रकुमार सुबेदीले बताए ।