स्वास्थ्य कार्यालयलाई सालपा विकास बैंकद्वारा स्वास्थ्य सामग्री प्रदान

जेठ २८ बुधवार, २०७७
खोटाङ । खोटाङको सालपा विकास बैंक लिमिटेडले स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल खोटाङलाई ६ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पु¥याउनका लागि सालपा विकास बैंकले बुधबार भिटिएम, आरडिटि टेष्ट किट, पिपिई, केएन ९५ मास्क प्रदान गरेको हो ।

‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित खोटाङकै नागरिकले स्थापना गरेको बैंकले स्वास्थ्य कार्यालय  तथा जिल्ला अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत तथा बैंकमा कार्यरत कर्मचारी सेवासुविधाबाट तीन सय ५० थान आरडिटि टेष्ट किट, दुई सय ५० थान स्वाब कलेक्सन भिटिएम, ३० सेट पिपिई सुट, केएन ९५ मास्क प्रदान गरेको हो ।

जिल्ला अस्पतालमा आयोजित कार्यक्रममा सालपा विकास बैंकका सञ्चालक समितिका सदस्य चन्द्रबहादुर खड्काले जिल्ला समन्वय समितिका प्रमुख एबं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष बबी चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

बैंकले तीन लाख ५० हजारको आरडिटि किट, एक लाख १२ हजारको भिटिएम, ६९ हजार बराबरको पिपिई र मास्क प्रदान गरेको जनाएको छ । जिल्ला अस्पतालका डाक्टर, कर्मचारी लगायतको उपस्थितिमा बैंकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कोरोना महामारी विरुद्धको अभियानमा हातेमालो गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको बैंकका विभागिय प्रमुख दिपकर राईले बताए ।