सरकारको अकर्मण्यता, अदुरदर्शिता र असक्षमताको कारणले गर्दा कोरोना महामारी भयावह भयो

असार २ मंगलवार, २०७७
खोटाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस खोटाङले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले अहिले गरिरहेको प्रयासले सफल हुन नसक्ने जनाउदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली कांग्रेसको निरन्तर सहयोग, सञ्चारमाध्यम, नागरिक समाज र आम जनताको साथले सृर्जना गरेको अनुकुलताको बावजुत पनि सरकारको अक्षमताका कारण मुलुकमा कोरोना महामारी भयावह बनेको भन्दै कांग्रेसले जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको हो ।

सरकारको अकर्मण्यता, अदुरदर्शिता र असक्षमताको कारणले यस्तो भयावह अवस्था बन्न पुगेको हो भन्ने नेपाली काँग्रेस खोटाङको ठहर छ’, जिल्ला उपसभापति नवराज केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्र भनिएको छ ।


काँग्रेसले कोभिड १९ को संक्रमणको सम्भाव्य अवस्थालाई सरकारले संवेदनशील रुपमा नलिएको बताउदै कांग्रेसले ‘विज्ञहरू, राजनीतिक तथा नागरिकस्तरबाट प्राप्त सुझाव र सहयोगलाई ग्रहण गरेर त्यो अनुरुप काम गरेको भए अहिलेको यो अवस्था भन्दा धेरै सहज अवस्था रहन सक्दथ्यो । तर जनस्वास्थ्य विज्ञहरूको हवला दिँदै आउने दिनहरुमा संक्रमणको दर अझै बढ्दै जाने देखिएको काँग्रेसले जनाएको छ ।

त्यस्तै कांग्रेसले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी देश र जनतालाई यो विपदबाट जोगाउन परीक्षणको दायरा बढाउन माग गरेको छ ।

त्यसैगरी स्वास्थ्य सामग्रीको आपूर्ति र व्यवस्थापन, मापदण्ड अनुसारको उचित क्वारेन्टाइनको व्यवस्था गर्न, विश्वसनिय प्रविधिबाट बढि भन्दा बढि नागरिकको पिसिआर परीक्षण गर्न, कन्ट्याक्ट ट्रेसिङ, अस्पतालको व्यवस्थापन, अनियमितताको छानविन र पारदर्शीता अपनाउन माग गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी र सरसफाइकर्मीहरुको सरकारले व्यक्तिगत सुरक्षाको उचित प्रवन्ध र उनीहरुलाई प्रोत्साहन गर्ने योजना बनाउन पनि कांग्रेसले माग गरेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गरिएको हो ।