नगर बस सञ्चालनका लागि नगरपालिका र खोटाङ यातायात प्रा.लि. बिच एक वर्षे सम्झौता

खोटाङ । नगर बस सञ्चालनका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटाङ यातायात प्रालीबिचमा सम्झौता भएको छ । नगरबासीको सहज आवागमनका लागि नगरपालिका र यातायात प्रालिबीचमा नगर बस सञ्चालनका लागि आईतबार एक वर्षे सम्झौता भएको हो ।

१५ वडा रहेको नगरपालिकाभित्रका हरेक वडामा यातायातको सहज पहुँच विस्तारका लागि नगरपालिकाको विद्यमान ऐन, नियम, कार्यविधि र प्रचलित ऐन नियमको परिधीमा रहेर नगर बस सञ्चालनका लागि मेयर दिपनारायण रिजाल र खोटाङ यातायात प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठबीचमा २० बुँदे सम्झौता भएको छ । दशैंतिहारलाई मध्यनजर गर्दै नगरपालिका र यातायात प्रालीबिचमा हाललाई नगरपालिकाका १२ वटा सडकमा बस सञ्चालनका लागि रुट पर्मिटको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सबै वडामा व्यवस्थित रुपमा नगर बस सञ्चालनका लागि नगरपालिकाले आवश्यक वातावरण बनाउने, चालक र सह–चालकलाई नगरपालिकाले निर्धारण गरेको पोशाकको व्यवस्था गर्ने, नगरभित्रको यात्राकाक्रममा बढिमा ३ जना ज्येष्ठ नागरिकलाई निशुल्क यात्रा गराउनु पर्ने, नगरपालिकाले प्रमाणित गरेको एकल महिला, असहाय र अतिविपन्न यात्रुलाई ३३ प्रतिशत भाडा छुट गर्ने, महिलाका लागि ४ सिट, ज्येष्ठ नागरिकका लागि २ सिट, फरक क्षमता भएका यात्रुका लागि १ सिट र पत्रकारका लागि १ सिट आरक्षणको व्यवस्था मिलाउने सम्झौता गरिएको छ ।

यस्तै, नगर बसको रंग एकै खालको हुनुपर्ने, अन्य सार्वजनिक यातायातको तुलनामा नगर बसको भाडामा केही छुटको व्यवस्था गर्ने, नगर बसमा नगर गीत तथा खोटाङका कलाकारले गाएका गीत बजाउन प्राथमिकता दिने लगायतका शर्त पालना गर्ने सम्झौतामा उल्लेख छ ।

नगर बस सञ्चालनका लागि नगरपालिकाले दिक्तेल–जालपा–फेदी, दिक्तेल–जालपा–कादेल, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–निर्मलीडाँडा, दिक्तेल–लफ्याङ–दुबे,दिक्तेल–बुईपा–बिजयखर्क–चम्पावती माबि, दिक्तेल–महुरे–बिजुले, दिक्तेल–नेर्पा–दोर्पा–दुम्ली, दिक्तेल–खानीडाँडा–फेदी र दिक्तेल–बाम्राङ–बुईपा–विजयखर्क सडकमा रुट पर्मिट दिएको छ ।